काठमाडौं, १ मंसिर २०८२ । विवाहित महिलाहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता ‘मिसेस् नेपाल वर्ल्ड–२०२५’को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।
२४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले ‘मिसेस् नेपाल वर्ल्ड २०२५ को उपाधि जितेकी हुन् । प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनु हुन्छ भन्ने निर्णायक प्रश्नको जवाफ दिँदै रक्षाले उपाधि हासिल गरेकी हुन् ।
उनले उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस् वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गरेकी छन् ।
प्रतियोगितामा सञ्जु भट्ट मिसेस् नेपाल इन्टरनेशनल भइन् । उनले सेन्ट्रल फेसन स्कुल फेसन आइकनको उपाधि पनि आफ्नो पोल्टामा पारिन् । दिपीका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् ।
मिसेस् नेपाल वर्ल्डमा विद्या चौहान फर्स्ट रनरअप भइन् । उनले भ्युवर्स च्वाइस र फेसबुक च्वाइसको उपाधि पनि हात पारिन् । एलिना केसी सेकेन्ड रनरअपका साथमा क्युट केयर वेष्ट हेयर जित्न सफल भइन् । निर्मला सुनुवार थर्ड रनरअप भएको आयोजकले आफ्नो प्रेस नोटमा उल्लेख गरेको छ ।






