२८ कार्तिक २०८२ । चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) पछिल्लो समय मानसिक तथा शारीरिक थकानबाट पीडित भएका छन् । धुर्मुसकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटोसहितको स्टाटसले यसबारे खुलासा गरेको छ । फोटोमा धुर्मुस एउटा म्याटमा सुतिरहेको अवस्थामा देखिएका छन्, जसमा प्राकृतिक उपचारको सन्दर्भ उल्लेख छ ।
कुञ्जनाले लेखेकी छिन् ‘सामुदायिक प्राकृतिक चिकित्सालय रजहर, नवलपरासीमा बिहानको उपचार लिँदै । शारीरिक अनि मानसिक दुवै रूपले धेरै नै गल्नुभएको छ तर हजुरहरूको मायाले उहाँ छिट्टै पहिलेकै सामान्य अवस्थामा फर्किनुहुनेछ भन्ने आशा जागेको छ ।’
यो स्टाटसले धुर्मुसको स्वास्थ्य अवस्थालाई व्यक्त गरेको छ । पछिल्लो केही समययता धुर्मुस आफैँले पनि खुलारूपमा भनेका छन्, उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका छन् । र, मानसिक रूपले निकै कमजोर महसुस गरिरहेका छन् । उनले पटक–पटक आफू उपचार खोज्दै हिँडिरहेको जस्तो अभिव्यक्ति पनि दिएका छन् ।
तनाव कारण : क्रिकेट रंगशाला निर्माणको विवाद
धुर्मुस–सुन्तली फाउण्डेसनले २०१९ मा घोषणा गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (भरतपुर) निर्माण अभियान देशव्यापी चर्चामा थियो । यो रंगशाला नेपालको खेलकुद विकासको प्रतीक बन्ने अपेक्षा थियो, तर निर्माण सुरु भएसँगै विवादहरू सुरु भए । सोचअनुसार सहयोग नजुट्नु, सरकारी सहयोगको अभाव, जस्ता कारणले क्रिकेट रंगशाला निर्माणको काम बीचैमा अलपत्र पर्यो ।
यही समस्या सल्टाउनका लागि हरेक दिन सिंहदरबार धाउनुपरेको गुनासो धुर्मुसको छ । उक्त रंगशाला धुर्मुस–सुन्तली फाउण्डेसनबाट सरकारले जिम्मा लिएको दुई वर्ष बितिसकेको छ । तर पनि त्यसको तनावले धुर्मुसलाई छाडेको छैन । यसको कारण हो उक्त रंगशाला निर्माणका क्रममा लागेको ऋण । रंगशाला निर्माणका लागि ल्याइएका सामानको १८ करोड बढी तिर्न बाँकी रहेको धुर्मुसले बताउँदै आएका छन् । उक्त रकम सरकारले तिर्ने सहमति भइसके पनि उनले पाउन सकेका छैनन् ।
धुर्मुसका भाइ कुमार कट्टेलले पनि हिजो फेसबुकमा एउटा भावुक पोस्ट गर्दै लेखेका थिए ‘रातदिन सिंहदरबारको बास । अनि अहिलेको दाइको अवस्था, देश बनाउनुपर्छ भन्ने युवाले पाएको प्रोत्साहन।’ कुमारको यो पोस्टले धुर्मुसको समर्पणलाई प्रश्न गर्दै सरकारी असहयोगको आलोचना गरेको छ । सम्भवतः यो रंगशाला विवाद नै धुर्मुसको मानसिक स्वास्थ्य बिगार्ने मुख्य कारण हो ।
रंगशालाको काम बीचमा छाडेपछि चौतर्फी आलोचना, आर्थिक बोझ र सामाजिक तनावले उनको स्वास्थ्यमा गम्भीर असर पारेको अनुमान गरिएको छ । धुर्मुसको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै हास्य कालाकार मनोज गजुरेलले लेखेका छन् ‘प्यारो भाइ सिताराम ‘धुर्मुस’ १ आरोह अवरोहहरू, घटना-दुर्घटनाहरू आउँछन्, जान्छन् तर जीवन सबैभन्दा मूल्यवान हो । शारीरिक र मानसिक थकानबाट उठ्ने आत्मविश्वास तिमीमा थियो, छ, र रहनुपर्दछ । सिघ्र स्वास्थ्यलाभको प्रार्थना ।’
त्यस्तै अर्का हास्यकालकार हिमेस पन्तले पनि धुर्मुसको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन् ‘देश बनाउछु भनेर एउटा मान्छे उठ्यो, हातमा कोदाली, मुटुमा सपना र आँखामा स्टेडियम । तर आज त्यही मान्छे उपचारको बेडमा छ, खुट्टाभरि पट्टी बाँधिएको छ । कसैले आफैंका लागि होइन, देशका लागि दौडिन खोज्यो तर बाटोमा साथ दिनुपर्ने नेताहरूले नै साथ हैन, ढुंगा हानिदिए ।’
राष्ट्रका लागि पसिना बगाउने मान्छेहरूको फोटो भने यही हालतमा देखिनु दुस्खद् भएको उनले बताएका छन् । उनले थप लेखेका छन् ‘गेग वेल सुन दाइ, देशलाई तपाईं जस्ता मान्छे अझै धेरै चाहिन्छ ।’






