Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

पुरुष र महिलाबीच स्वस्थ यौनसम्बन्ध हुँदाहुँदै​ पनि बाहिरी व्यक्तिसँग शारीरिक यौनसम्बन्ध हुने सम्भावना कति हुन्छ ? यदि स्वस्थ यौनसम्बन्धका बाबजुद पनि बाहिरी सम्बन्ध हुन्छ भने मनोविज्ञानका हिसाबले किन हुन्छ ?

राम्रो सम्बन्ध हुँदाहुँदै पनि बाहिरी सम्बन्ध हुने सम्भावनाका बारेमा कुरा गर्दा हरेक सम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ, त्यसैले यो प्रश्नको उत्तर दिन पनि गार्‍हो छ । तपाईंको प्रश्नमा शारीरिक वा यौनसम्बन्धका बारेमा मात्र उल्लेख भएको छ, तर अनुसन्धानकर्ताहरूले यही विषयलाई लिएर गरेका अनुसन्धानहरूमा यौन र भावना दुवै दृष्टिले कति प्रभाव पर्छ भन्नेमा बढी चासो दिइएको पाइन्छ ।

सन् २०१० मा प्रकाशित जर्नल पर्सनालिटी एन्ड इन्डिभिज्युल डिफरेन्सेसमा १ दशमलव २ प्रतिशतदेखि ८५ दशमलव ५ प्रतिशतले दिएको प्रतिक्रियामा यौनसम्बन्धका लागि मात्र बाहिरी अन्य व्यक्तिसँग सम्बन्ध हुनेभन्दा यौन र भावना दुवै पक्षका लागि बाहिरी सम्बन्ध हुने गरेको भनेर प्रतिक्रिया दिनेहरूको संख्या बढी थियो । त्यसमा उल्लेख भएअनुसार आफ्नो यौनसाथीसँग बाहेक अन्य व्यक्तिसँग यौनचाहना अभिव्यक्त हुने जिस्क्याइले पनि आफ्नो यौनसाथीलाई धोका दिएको भन्ने बुझिन्छ ।

अनुसन्धानका क्रममा आफ्नो यौनसाथीलाई धोका दिएर बाहिरी सम्बन्धलाई प्रोत्साहित गर्नेमा महिलाभन्दा पुरुष बढी भएको पाइएको छ । यद्यपि हालसालै गरिएको अनुसन्धानले आधुनिकीकरणसँगै यो संख्या बराबरजस्तो देखिएको बताइएको छ । त्यस्तै अविवाहित जोडीमा एक–अर्काले धोका दिने संख्या विवाहित जोडीमा भन्दा बढी भएको पाइएको छ ।

कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन् । प्रेम र यौनसम्बन्धमा आफैंले पनि गम्भीर भएर सोचे आफ्नो यौनसाथीलाई किन धोका दिइरहेको छु भन्ने कुरा महसुस गर्न सजिलो हुन्छ । यदि दुई जनासँग एकैपटकमा सम्बन्ध कायम रहने हो भने त्यसले आफ्नो यौनसाथीमा मात्र नभै आफूमा पनि भावनात्मक एवं सामाजिक जटिलतालाई निम्त्याउँछ । आफ्नो यौनसाथीबाहेक अरूसँगको यौनसम्बन्धले डर, चिन्ता तथा ग्लानिको भावना सिर्जना हुन्छ । यस्तो भावनाले दुई जोडीबीचको यौनसम्बन्धमा मात्र होइन, दैनिक क्रियाकलापमा समेत असर पर्न थाल्छ । यसको निवारण छिटो हुनु बेस हुन्छ । किन यस्तो समस्या भएको होला भन्ने दुविधा छ भने मनोविद् वा मनोचिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

 

तपाईको प्रतिक्रिया