Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, ६ साउन २०८२ । झापाको हल्दिबारीमा आगलागी हुँदा चार जना घाइते भएका छन् । हल्दिबारी गाउँपालिका–४ मा ग्यासबाट अचानक आगो सल्किदा आगलागी भएर चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज (मंगलबार) बिहान ८ः४० बजेको समयमा हल्दिबारी–४ स्थित ओली चोकका ६० वर्षीय पुन्यप्रसाद ओलीको घरमा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्किएको थियो ।

आगलागीमा परी घरधनी ओली, उनका छोराबुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन् । उनीहरुको शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएका हुन् । आगो निभाउने क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उद्धार गरेर ओमसाई पाथीभरा अस्पताल पठाएकोमा थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट घरको भान्सा कोठा आंशिक रुपमा क्षति भएको छ । अस्थाई प्रहरी पोष्ट कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा ९ः१५ बजे आगो नियन्त्रणमा लिइएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

 

तपाईको प्रतिक्रिया