झापा, २ साउन २०८२ । झापाको बिर्तामोडमा ठुलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद गरिएको छ । बिर्तामोड नगरपालिका-५ स्थित मंगलदीप टोलमा रहेको गोदाममा छापा मारेर प्रहरीले औषधीजन्य लागूऔषध बरामद गरेको हो । सो गोदाम सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलको भएको बताइएको छ । खरेलले मनकुमार सङ्ग्रौलाको घर भाडामा लिएर दुई वटा गोदाममा औषधी राखेका थिए ।
प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले बरामद प्रतिबन्धित औषधीको परिमाण यकिन गरी मुचुल्का तयार गर्ने कार्य भइरहेको बताए । प्रहरीले एक जना कामदारलाई पक्राउ गरेको छ । औषधी व्यवसायी खरेल भने फरार भएका छन् । खरेलले औषधिको थोक बिक्रेताको आवरणमा बर्षौदेखि सेटिङ मिलाएर लागुऔषधजन्य औषधिको कारोबार गर्दै आएको बताइएको छ ।






