झापा, २९ असार २०८२ । झापाको दमकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी दमक–३ संगम चौक बस्ने ५५ वर्षिया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज दिउँसो अन्दाजी १२ बजे दमक नगरपालिका-३ संगम चोकस्थितमा डिपुचोकबाट आम्दातर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटरको पछाडी सवार गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी स्कुटर चालक दमक-३ बस्ने ४४ वर्षीया टिका गौतमको दाहिने खुट्टाको घुँडामा सामान्य चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कुटर, टिपर र टिपर चालक बिर्तामोड–२ बस्ने ४६ वर्षीय तोयानाथ बिकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुई दिनका लागि झापा आएका प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको आधा घण्टापछि उक्त सडकमा सो दुर्घटना भएको हो ।






