मुम्बई, १८ असार २०८२ । शनिवार बिहानीपख आफ्नो घरमा बेहोस भएकी बलिउड अभिनेत्री तथा मोडेल शेफाली जरीवालाको मृत्युको कारण बारेमा प्रारम्भिक फोरेन्सिक रिपोर्ट आएको छ । प्रहरीले आइतबार सो रिपोर्ट सार्वजनिक गरेको छ ।
यी अभिनेत्रीको शनिवार साँझ अन्तिम संस्कार गरियो । आइतबार उनको पोस्ट मार्टम रिपोर्ट आएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ढल्कँदो उमेर अर्थात् बुढ्यौली ९एन्टी एज० प्रतिरोध गर्ने औषधिको सुई लगाएकी यी अभिनेत्रीको सोही औषधीको रियाक्सनका कारण मृत्यु भएको प्रारम्भिक फोरेन्सिक रिपोर्टमा देखिएको छ ।
पारिवारिक स्रोतका अनुसार त्यो दिन शेफालीको घरमा धार्मिक पूजा थियो । जसका कारण उनी व्रत बसेकी थिइन्। त्यस अघि पनि ‘किटो डाईटिङ’ गरेर कमजोरीले उनी पटक पटक बेहोस भएकी थिइन् । त्यो दिन पनि व्रत बसेको बेला उनले दिउँसो बुढ्यौली प्रतिरोधी औषधिको सुई लगाएकी थिइन् । यो सुई उनले विगत लामो समयदेखि लगाउँदै आएकी थिइन् । उनले सुईसँगै एन्टी एजको औषधी पनि प्रयोग गर्दै आएकी थिईन् । परिवारका अनुसार साँझ सबै ठिकठाक थियो, तर राति १० देखि ११ बजेको बिचमा उनको स्वास्थ्य अचानक बिग्रियो ।
रिँगटा लाग्यो भन्दै शेफाली काँप्न थालिन् । आफूहरूले ज्वरो आउन लागेको भनेर बेबस्ता गर्दा पत्तै नपाई उनी बेहोस भएको र उनलाई अचानक बेसोहीमा भेटेको पति पराग त्यागीले प्रहरीको बयानको क्रममा बताएका छन् । त्यसपछि परिवारका अन्य सदस्यहरूले उनलाई तुरुन्तै अस्पताल लगेका थिए । अस्पताल पुग्दा डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।
फोरेन्सिक टोलीको रिपोर्ट अनुसार दिनभर व्रत बसेर कमजोर भएको अवस्थामा बुढ्यौली प्रतिरोधी औषधिको सेवन र इन्जेक्सनले उनलाई झनै कमजोर बनायो । जसका कारण उनको रक्तचाप अत्यन्त कमजोर भएर हृदयाघात भएको रिपोर्टमा देखिएको फोरेन्सिक टोलीले जनाएको छ ।
उनको घरबाट फोरेन्सिक टोलीले विभिन्न औषधि, भिटामिन सप्लिमेन्ट र ग्यासको चक्की जफत गरेको थियो । अरू कुन कुन औषधिले उनको स्वास्थ्यमा नराम्रो असर पारेको थियो भनेर पत्ता लगाउन सबै औषधीको प्रयोगशालामा परीक्षण भइरहेको पनि फोरेन्सिक टोलीले जनाएको छ ।
अहिलेसम्म प्रहरीले परिवारका सदस्य, घरेलु कर्मचारी र अस्पतालका डाक्टरहरू सहित कुल ८ जनाको बयान रेकर्ड गरेको छ । अहिलेसम्म अनुसन्धानमा कुनै पनि प्रकारको झगडा वा विवाद बाहिर आएको छैन । जफत गरिएका औषधिहरूको अनुसन्धान रिपोर्टसँगै पोस्ट मार्टमको रिपोर्ट समेत आए पछि मात्र मृत्युको वास्तविक कारण पूर्ण रूपमा खुल्ने प्रहरीले जनाएको छ ।
शेफाली जरीवालाले २००२ मा रिलिज भएको सुपर हिट म्युजिक भिडियो काँटा लगाबाट मोडलको रूपमा अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले अक्षय कुमार र सलमान खानसँग चलचित्र मुझसे शादी करोगीमा काम गरेर बलिउड यात्रा थालेकी थिइन् । त्यसपछि थुप्रै वेभ सिरिज, रियालिटी सो र चलचित्रमा उनले काम गरिसकेकी थिइन् ।






