गौरादह, २१ जेठ २०८२ । झापाको गौरादहमा सम्पन्न भएको अन्तर विद्यालयस्तरीय एकाङ्की नाटक प्रतियोगितामा जनता माध्यमिक विद्यालय प्रथम भएको छ । दुई चरणमा गरी हिँजो (मंगलबार) गौरादह नगरपालिकाको सभाहलमा सम्पन्न प्रतियोगिताको निर्णायक चरणमा अन्य सहभागी टिमलाई पछि पार्दै गौरादह-१ को जनता माध्यमिक विद्यालय प्रथम भएको हो ।
प्रतियोगितामा गौराद-१ को गोल्डेन सनराइज मावि द्वितीय र गौरादह-८ कै प्रगति माध्यमिक विद्यालय तृतीय भएको छ । गौरादह जेसीजको आयोजना र गौरादह नगरपालिका-१ को सहकार्यमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा गौरादह नगर भित्रका ९ वटा विद्यालयले सहभागिता जनाएकोमा जनता माध्यमिक विद्यालय, गोल्डेन सनराइज मावि र प्रगति माध्यमिक विद्यालय उत्कृष्ट ३ मा पर्न सफल भएका थिए ।
प्रतियोगिताका विभिन्न विधा अन्तर्गत उत्कृष्ट अभिनेताको पुरस्कार पनि जनता माध्यमिक विद्यालयले प्रदर्शन गरेको नाटक ‘उज्यालो यात्रा’ का कलाकार गुडलक दाहालले पाएका छन्। ‘उज्यालो यात्रा ‘का कलाकारहरू योगेन्द्र निरौला, समीक्षा क्षेत्री, प्रविषा गिरी, राजु माझकोटी, गोबिन्द दहाल, सन्देश भट्टराई, दुर्गा आचार्य, सम्झना सार्की, संयम परियार, प्रशान्त कार्की र सन्जु पौडेलले उत्कृष्ट अभिनय गरेका थिए ।
यस्तै, उज्यालो यात्रा नाटकको व्यवस्थापनतर्फ गणेश कटुवाल, समिर चौधरी, खगेन्द्र भट्टराई, समीर कार्की, रुपेश मुर्मु, आर्यन कटुवाल ,सन्देश थापा ,प्रदीप परियार रहेका थिए भने शृंगारमा प्रास्ना कार्की र शिवानी पोखरेल रहेका थिए । यसैगरी नाटकमा ध्वनि तथा पार्श्व संगीत योगेश भट्टराईले गरेका थिए । नाटकको परिकल्पनाकार गुडलक दाहालले गरेका थिए भने, सम्पादन तथा निर्देशन हरि बस्नेत डिकेले गरेका थिए।
अन्तरविद्यालय एकांकी नाटक प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै जनता माध्यमिक विद्यालयले रु १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार ५ सय, ५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।








