काठमाडौं, ६ जेठ २०८२ । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना बढेसँगै सेयर बजारमा हरियाली छाएको हो।
अब केही बेरमा गभर्नर सिफारिस समितिको बैठक बस्दैछ। लगत्तै बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्ति गर्ने संभावना छ। सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको स्रोतको भनाइ छ।
नयाँ गभर्नर आउने भएपछि लगानीकर्ताहरू उत्साहित भएको सेयर विज्ञहरू बताउँछन्। लामो समयदेखि गभर्नर नियुक्त हुन नसक्दा लगानीकर्ताहरू ‘हेर र पर्ख’ को अवस्थामा थिए।
गभर्नर नियुक्तिको संभावनासँगै नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा अडिएको थियो। सो दिन ७ अर्ब ३५ करोडको सेयर कारोबार भएको थियो।
नेप्से उच्च अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा कमी आएको छ। यसदिन ३१० स्क्रिप्सको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँमा खरिदबिक्री भए।
नेप्से परिसूचक उच्च अंकले बढ्दा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिन्धु विकास बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
ग्रीन डेभलपमेन्ट बैंक र राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर ९ प्रतिशत बढीले बढ्यो। आज कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४१ करोड ८० लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी नगदी ग्रुप पावरको ३६ करोडको सेयर कारोबार हुँदा युनिभर्सल पावरले ३१ करोड,सानिमा माइ हाइड्रोपावरको ३० करोड र सोल्टी होटलको २९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २२९ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो।
सबै समूहको उपसूचकमा हरियाली छाएको छ। आज होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक ४।३२ प्रतिशतले बढ्यो। यसैगरी डेभलपमेन्ट,फाइनान्स,हाइड्रोपावर,इन्भेस्टमेन्ट समूहको उपसूचक २ प्रतिशत बढीले बढ्यो।






