Online Bichar
शुक्रबार, मंसिर २०, २०८२ | Friday, December 5, 2025

विराटनगर, ३ जेठ २०८२ । मोरङमा पालिका अध्यक्षले आफ्नै वडाध्यक्षलाई ज्यान मार्ने धम्की दिएका छन्। ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडालाई ज्यान मार्ने धम्की दिएका हुन्।

खतिवडालाई गालीगलौज र अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको आरोप माझीमाथि लागेको छ। माझी गत उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। पालिका अध्यक्षको कार्यभार सम्हालेयता उनी अनेक विवादमा मुछिएका छन्। पछिल्लो समय वडाध्यक्षलाई धम्की दिएको विवादमा परेका हुन्।

ग्रामथान गाउँपालिकामा वडाहरूलाई दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडामाथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएका छन्। वडा कार्यालयमा भुक्तानी रोकिएको विषयमा वैशाख ३१ गते दबाब मूलक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमबाट फर्कने क्रममा नमोनारायण माझीका निकट गयानन्द माझीले ज्यान मार्ने धम्की दिएका हुन्।

ग्रामथान–२ पिडारवनी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा अध्यक्ष माझी आफैंले वडाध्यक्ष खतिवडालाई सार्वजनिक स्थलमा लागी गलौजसमेत गरेका थिए। खतिवडा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष हुन्। उनले आफूलाई पालिका अध्यक्षले गालीगलौज गर्दैै ज्यान मार्ने धम्की दिएको बताए। गाउँपालिका अध्यक्ष माझीसहित ४–५ जना कार्यक्रम हलमा प्रवेश गरेर ठेगान लगाउने धम्की दिएको उनको भनाइ छ।

आफूविरुद्ध मुद्दा लगाएको तथा तथा लेखा शाखाको काम अवरुद्ध गरेको र गाउँपालिकामा आफूविरुद्ध भएका एवं गरिएका सम्पूर्ण गतिविधिको प्रमुख योजनाकार रहेको आरोप लगाउँदै अध्यक्ष माझी र उनको समूहले ज्यान मार्ने धम्की दिएको खतिवडा बताउँछन्। नेकपा ९एमाले० मोरङले घटनाको विरोध गरेको छ। पार्टीका जिल्ला अध्यक्ष अजम्बर राईले शनिबार विज्ञप्ति जारी गर्दै माझीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। साथै, एमालेले वडाध्यक्ष खतिवडाको जिउधनको सुरक्षा हुनुपर्ने मागसमेत गरेको छ।

गाउँपालिका अध्यक्ष माझीले भने आफूले वडाध्यक्षलाई दुर्व्यवहार नगरेको बताए। ‘जनताको काम नगरेकाले २–४ शब्द भनियो होला। त्यसलाई गालीगलौज र दुर्व्यवहार गरेको तथा धम्की दिएको भन्न मिल्दैन। त्यो जनताको आक्रोश हो। काम नगरेका कारण जनता रिसाउनु स्वभाविक हो,’ उनले भने।

खतिवडाले वडाध्यक्षको काम नगरेर पार्टीको अध्यक्षजस्तो भूमिका निर्वाह गरिरहेको माझीको आरोप छ। ‘वडाध्यक्षले जुन कर्तव्य निर्वाह गर्नुपर्ने हो। त्यो भइरहेको छैन। पार्टी अध्यक्षजस्तो हिसाबले चलेको देखिन्छ। त्यसैले जनता आक्रोशित भएका छन्। कुनै दुर्व्यवहार गरेको छैन। धम्की पनि दिएको हैन,’ माझी भन्छन्।

 

तपाईको प्रतिक्रिया