झापा, १८ वैशाख २०८२ । झापाको एक मेडिकलबाट प्रतिबन्धित औषधी बिक्री वितरण गरिरहेको अबस्थामा मेडिकल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-५ फूलबारी स्थित बिक्रम बिकास मेडिकलकी संचालक ३९ वर्षीया बन्दना पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो (बुधबार) साँझ ५ः३० बजेको समयमा बाह्रदशी गाउँपालिका-५ फूलबारी स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली खटिएर खानतलासी गर्दा प्रतिवन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरु एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । मेडिकल संचालक बन्दना पोखरेललाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।