Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह ३ माघ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने नेतृत्व विकाश तथा परामर्श तालिम सञ्चालन गरिएको छ । अन्र्तपार्टी महिला सञ्जाल वडा समिति गौरादह १ ले आयोजना गरेको तालिममा वडा न.१ भित्रका ६० जना महिलाहरुको सहभागिता रहेको छ ।

अधिवक्ता कविता शर्माले कानुनी परामर्श सम्बन्धि संविधानले दिएको महिलाको हक सम्बन्धि नयाँ कानुनी व्यवस्था, महिला हक अधिकार, सम्बन्ध विच्छेद, अंशवण्डा, नाबालक हक, नागरिक अधिकार, घरेलु हिंसा, बलात्कार सम्बन्धि कानुनले गरेको व्यवस्थाको बारेमा प्रशिक्षण दिएकी थिइन् । जेसिज तालिम प्रशिक्षक केदार भण्डारीले महिलाहरुको नेतृत्व विकाश सम्बन्धि प्रशिक्षण दिनेछन् ।

वडा न. १ को वडा कार्यालयको सभाहलमा आयोजना गरिएको तालिममा गौैरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले नगरको विकाशका लागि महिलाहरुलाई सक्षम बनाई क्षमताको विकाश गरि नेतृत्वदायी भुमिका निर्वाह गर्न आवश्यक रहेकाले तालिम आयोजना गरिएको बताए ।

उपमेयर गीता भेट्वालले यस प्रकारका तालिमहरु आयोजना गरि महिलाहरुलाई सबल बनाई ५ वर्ष भित्रमा महिला हिंसा मूक्त नगर घोषणा गर्ने नगरपालिकाको लक्ष्य रहेको बताइन् । वडा न. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले महिलाहरुलाई नेतृत्व विकाशका साथै स्वावलम्बी बन्न आय आर्जन गर्न सक्ने तालिमहरुको समेत आवश्यकता रहेको बताए ।

महिला सञ्जाल वडा न. १ कि अध्यक्ष तुलसा भुजेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सहसचिव निरु पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव ललिता सिग्देलले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।

तपाईको प्रतिक्रिया