Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

फरक पृष्ठभूमि र क्षेत्रको प्रतिनिधित्व गर्दै बनाइएको ‘महिला सशक्तीकरण सगरमाथा एक्सपेडिसन–२०१८’ समूहले आगामी सिजनमा सगरमाथा चढ्ने भएको हो

महिला सशक्तीकरणका लागि सातजना महिलाले सगरमाथा चढ्ने भएका छन् । फरक पृष्ठभूमि र क्षेत्रको प्रतिनिधित्व गर्दै बनाइएको ‘महिला सशक्तीकरण सगरमाथा एक्सपेडिसन–२०१८’ समूहले आगामी सिजनमा सगरमाथा चढ्ने भएको हो । समूहमा एकल महिला, वैदेशिक रोजगारीबाट फर्किएकी महिला तथा आरोही रहेका छन् ।

महिला सशक्तीकरणको अभियान सफल बनाउने लक्ष्य
हिमाल आरोही कान्छीमाया तामाङको नेतृत्वमा महिला सशक्तीकरणको नारा लिएर उनीहरू सगरमाथा चढ्ने भएका हुन् । यसअघि सोही समूहले गत सिजनमा रामदुङ पिक (५९२५) आरोहण गरिसकेको छ ।

महिला सशक्तीकरणको अभियानलाई सफल बनाउने उद्देश्यले सगरमाथा चढ्ने तयारी गरिएको समूहकी सदस्य निमा छ्योकी शेर्पाले बताइन् ।

सगरमाथा चढ्ने महिला
अभियानमा काभ्रे भीमखोरीकी शर्मिला लामा, दोलखा गौरीशंकरकी दावादिकी शेर्पा, सोलुखुम्बु तामाखानीकी याङ्जी शेर्पा र सोलुखुम्बु चौँरीखर्ककी लाक्पायाङ्जी शेर्पा छन् ।

‘समूहमा सगरमाथा आरोहणको क्रममा निधन भएका आरोहीका श्रीमती र विदेशमा श्रीमान्को निधन भएका एकल महिला, वैदेशिक रोजगारीबाट फर्किएकी महिला तथा नेपालमा संघर्षरत महिला छौँ,’ शेर्पाले भनिन्, ‘फरक पृष्ठभूमि र क्षेत्रका महिला ‘महिला सशक्तीकरण’कै नारा लिएर सगरमाथा चढ्दै छौँ ।’

पर्यटन व्यवसायी र सरकारको सहयोग
समूहले अहिले सगरमाथा आरोहणका लागि आवश्यक तयारी गरिरहेको उनले जानकारी दिइन् । समूहको अभियानमा पर्यटन व्यवसायी, सरकारी निकायलगायतले पनि सहयोग गरिरहेको उनले बताइन् ।

‘महिला सशक्तीकरण सगरमाथा एक्सपेडिसन २०१८’ समूहका सदस्यले मन्त्री, सरकारी कर्मचारी, आरोही, पर्यटन व्यवसायीलगायतलाई भेटेर अभियानबारेमा जानकारीसमेत गराएका छन् । यसअघि महिला तथा बालबालिकामन्त्री विक्रम थापा र राज्यमन्त्री कान्ता भट्टराईलाई भेटी आफ्नो संकल्पबारे जानकारी गराएको उनले बताइन् ।

‘हिमाल आरोहण सहज छैन, तर प्राविधिक विषयमा ध्यान दिन सकिए असम्भव पनि छैन,’ उनले भनिन्, ‘हाम्रो अभियानलाई सफल पार्न सबैको सहयोग चाहिन्छ ।’नयाँ पत्रिका

तपाईको प्रतिक्रिया