Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, ९ पुस । प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वा्चित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ ।

“प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो”,विज्ञप्तिमा भनिएको छ, “प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानूनी व्यवस्थाको समेत धज्जी उडाएको छ ।”

चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्था विरोधी यस्तो कदम तत्काल सच्चाउन आग्रह गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले रोशन खड्का काठमाडौँपाटी डटकम, रवि धामी मूलधारन्यूज डटकम मदनबाबु भण्डारी सुशासन डटकम, खिलानाथ ढकाल शुभदिन डटकम र रोशन पाण्डे जनप्रहार साप्ताहिक÷अपराध खबर डटकम लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको बताइएको छ । पाँचै पत्रकारको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन दिइएको थाहा भएको छ ।

तपाईको प्रतिक्रिया