Online Bichar
सोमबार, मंसिर १७, २०८१ | Monday, December 2, 2024

काठमाडौं, २८ कार्तिक २०८१ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्राइम टाइम टेलिभिजनका सञ्चालकसमेत रहेका पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रत्यक्षदर्शी रहेको दाबी गरेका गोरखाका नवराज अर्यालसँग धमलाले अन्तर्वार्ता लिएका थिए।

अर्यालले अन्तर्वार्ताका क्रममा आफू घटनाको प्रत्यक्षदर्शी भएको र यसमा संलग्न तीन जनाको नाम भन्न सक्ने भन्दै दाबी गरेका थिए।

प्रहरीले अन्तर्वार्ता दिने अर्याल र लिने धमलासँग सिआइबीमा सोधपुछ गरेको छ।

अर्यालले नियमित रूपमा टेलिभिजनको कार्यालयमा आएर अन्तर्वार्ता लिइदिन दबाब दिएकोले अन्तर्वार्ता लिनुपरेको धमलाले बताएको सिआइबीका एसपी होबिन्द्र बोगटीको भनाइ छ।

‘हामीकहाँ दिनहुँ आएर प्रेसर दिएको कारणले अन्तर्वार्ता लिएका हौं। बुझ्दा यो सबै कुरा फेकर झुट्टा रहेछ भन्ने थाहा पायौं,’ उनको भनाइ उदृत गर्दै सिआइबीका प्रवक्ता बोगटीले भने, ‘उहाँले अब सम्भवतस् त्यो भिडिओ सामाजिक सञ्जालबाट हटाउनुहुन्छ।’

सामाजिक सञ्जालमा यो विषय बाहिरिएपछि सिआइबीले अर्याललाई मंगलबार सोधपुछ गरेको थियो।

सिआइबीले उनीसँग ३/४ घण्टा कुराकानी गरी छाडेको थियो।

अर्याललाई बुधबार पनि सिआइबीमा उपस्थित हुन भनिएको थियो। तर उनी बिहानै घरमा मोबाइल छाडेर सम्पर्कबिहीन भएका थिए।

घर फर्किएपछि उनलाई सिआइबीले नियन्त्रणमा लिएको थियो। यसै विषयमा सिआइबीले पत्रकार धमलालाई बोलाएर सोधपुछ गरेको हो।

२०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

 

तपाईको प्रतिक्रिया