Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दमक, १७ पुस । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले भुटान फर्किन इच्छुक शरणार्थीको तथ्यांक संकलन सुरु गरेको छ ।

१९ डिसेम्बरदेखि फर्किन इच्छुक शरणार्थीले आफ्नो विवरण बुझाइरहेका छन् । उनीहरूले उच्चायोगले वितरण गरेको फारामअनुसार विवरण भरिरहेका छन् ।

शरणार्थीले आफ्नो नाम, थर, शिविरको छाप्रो नम्बर, परिवार संख्या, पुरुष–महिलाको संख्या, १८ वर्षमाथि र मुनिको संख्या, सम्पर्क नम्बर, भुटानको स्थायी ठेगाना र अब फर्किन चाहेको स्थानको विवरण भरेको डीबी सुब्बाले जनाए । सोमबार मध्याह्नसम्म ५ सय ५० परिवारले फाराम भरेको सुब्बाले जनाए ।

यूएनएचसीआरले भुटानी शरणार्थीको दीर्घकालीन समाधानअन्तर्गत तीन विकल्प अघि सारेको थियो । जसमा तेस्रो देश पुनर्वास कार्यक्रम सफल भइसकेको छ । भुटानी शरणार्थीका लागि सन् २००८ देखि पुनर्वास थालिएको थियो ।

उक्त कार्यक्रमबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्ड्समा १ लाख १३ हजारभन्दा बढी भुटानी पुगेका छन् । झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरमा गरी अब ६ हजार ६ सय भुटानी रहेको यूएनएचसीआरले जनाएको छ ।

लामो समयदेखि स्वदेश फिर्ती अभियानको नेतृत्व गर्दै आएका सुब्बाले यसपटकको तथ्यांक संकलनले भुटान फर्किन पाउने आस पलाएको बताए । उनले भने, ‘हामीले पटकपटक आन्दोलन गर्‍यौं, विज्ञप्ति निकाल्यौं, हारगुहार गर्‍यौं तर, कसैले सुनेको थिएन । अहिले भने यूएनएचसीआर आफैंले विवरण संकलन गराएकाले आशा पलाएको छ ।’ बेलडाँगी र पथरीशनिश्चरेका ३ हजार भुटानीस्वदेश फर्किन इच्छुक रहेको उनले बताए ।

संकलित तथ्यांक नेपालमा बाँकी शरणार्थीबारे छलफलका लागि जेनेभा पठाइने नेपाल सरकारका तर्फबाट शिविरमा खटिएका सुरेन्द्रराज दाहालले बताए । अहिले संकलित तथ्यांककै आधारमा नेपाल–भुटानबीच रोकिएको वार्ता सुचारु हुने उनले बताए ।
कान्तिपुरबाट

तपाईको प्रतिक्रिया