Online Bichar
आइतबार, कार्तिक ०९, २०८३ | Sunday, October 25, 2026

बुटवल, १ असोज २०८१ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। ५९ महिनासम्मका सबै बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन्।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० जना शून्य डोजका र दुई हजार तीन सय ४३ जना खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाएपछि प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा भएको हो।

लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्ण खोप पाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बालबालिकाहरूमा विभिन्न सरूवा रोगविरूद्ध खोप लगाइँदै आएको छ।

क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रूबेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखाला विरूद्धको खोप पनि उपलब्ध गराउँदै आइएको हो।

नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको भागेश्वर गाउँविकास समितिबाट पूर्णखोप घोषणाको सुरूआत गरिएको थियो।

 

तपाईको प्रतिक्रिया