Online Bichar
आइतबार, कार्तिक ०९, २०८३ | Sunday, October 25, 2026

काठमाडौं, ३० साउन २०८१ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्परी आज दिउँसोसम्म एक सय ७४ जनाको मृत्यु भएको छ।

बाढी, पहिरोलगायत विपद्परी काठमाडौं तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय ७४ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बाढीपहिरोले काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जनागरी जम्मा दुई सय २४ जना घाइते भएका छन्।

बाढीपहिरोबाट कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा एक सय १३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।

बाढीका कारण हालसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका प्रहरीले जनाएको छ। दुई सय ८६ वटा घर, एक सय चार वटा गोठ, ४८ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। बाढीपहिरोले आठ सय १६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्घटनाबाट चार हजार चार सय तीन घर परिवार विस्थापित भएका छन्।

 

तपाईको प्रतिक्रिया