Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २४ जेठ २०८१ । चलचित्र होस्टेल र होस्टेल २ को सफलतापछि अर्को प्रिक्वेलको रुपमा चलचित्र ‘होस्टल ३’ निर्माण हुने भएको छ । होस्टेल ३को निर्माण घोषणासँगै यसका प्रमुख कलाकारहरु पनि घोषणा गरिएको छ । यो चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्तलगायतका कलाकार चयन भएका छन् । उनीहरु अडिसनबाट चयन भएको निर्माण पक्षले जनाएको छ ।

यही चलचित्रबाट डेब्यु गर्न लागेका रिहान गिरी भुटानका नागरिक हुन्। उनी नेपाली गायन रियालिटी शो ’भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन्।

यस्तै पारस बम टिकटकमा कलाकार हुन् । जो कुल ब्वाईका रुपमा परिचित छन् । यस्तै अर्का कलाकार पदम तामाङ भारतको सिक्किमका हास्य कलाकार हुन् । उनी पनि टिकटकमा हिट छन्। अर्की कलाकार सिम्रन पन्त भने म्युजिक भिडियोकी मोडल हुन् ।

यो चलचित्रलाई सशान कँडेलले निर्देशन गर्नेछन् । चलचित्रको केही कलाकार यसै साता चयन गरेर निर्माण प्रकृया अघि बढाउने निर्देशक कँडेलको कथन छ ।

यस अघि चलचित्र होस्टेलबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने होस्टेल रिटर्न्सबाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला नव कलाकारको रुपमा चलचित्र उधोगमा आएका थिए । सोही कारण होस्टेल ३ बाट पनि नयाँ कलाकारहरुलाई ल्याउन लागेको निर्देशक कँडेलको कथन छ । उनका अनुसार यो चलचित्रको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।

तपाईको प्रतिक्रिया