Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठमाडौं, २६ वैशाख २०८१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास समन्वय एकाइको स्वीकृति विना काजमा बसेका शिक्षकहरूलाई फिर्ता गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ ।

केन्द्रका महानिर्देशक दीपक शर्माले मन्त्रालयबाट काजमा बसेका शिक्षकलाई फिर्ता गराउने निर्देशन आएको बताए । उनले भने, ‘मन्त्रालयको निर्देशन अनुरूप शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।’

शर्माले भने ‘विभिन्न संस्थामा र स्थानीय तहमा जनप्रतिनिधिको स्वकीय सचिव लगायत तोकिएको कार्यक्षेत्रभन्दा बाहिर बसेकालाई फिर्ता गर्ने निर्देशन आएको छ । त्यहीअनुसार एकाइलाई पत्राचार गर्छौं । अनि एकाइले स्थानीय तहलाई पत्राचार गर्छ ।’

शिक्षकहरूलाई जथाभावी काजमा राखिएको गुनासो आइरहेकाले मंगलबार सचिवस्तरीय निर्णय गरी केन्द्रलाई निर्देशन गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले बताए ।

उनले भने ‘शिक्षकहरूलाई जथाभावी काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएकाले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास समन्वय एकाइको स्वीकृति विना काजमा बसेका तथा कार्यक्षेत्रभन्दा बाहिर गएका शिक्षकहरूलाई फिर्ता गर्न निर्देशन गरिएको हो ।’

 

तपाईको प्रतिक्रिया