Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

काठमाडौं, २२ माघ २०८० । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ताको सूचना सार्वजनिक गर्न थालेको छ । आयोगको नतिजा अनुसार कोशी प्रदेशका तेह्रथुम, ताप्लेजुङ र झापाले माग गरे अनुसार शिक्षक नपाउने भएको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशको तेह्रथुम जिल्लाको ६९ रिक्त दरबन्दीको लागि जम्मा ३७ जना मात्रै अन्तर्वार्ताको लागि छनौट भएका छन् । नतिजा अनुसार तेह्रथुमको प्रावि तहको तेस्रो श्रेणी शिक्षक पदको ३२ दरबन्दी रिक्त हुने भएको छ ।

त्यस्तै, ताप्लेजुङ जिल्लाको ४२ दरबन्दी रिक्त हुने भएको छ । जिल्लाको१२० रिक्त दरबन्दीको लागि सञ्चालन भएको परीक्षामा जम्मा ७९ जना उम्मेदवार अन्र्तवार्ताको लागि छनोट भएका छन् ।

झापा जिल्लाको १२८ रिक्त दरबन्दीको लागि १०९ जना मात्रै अन्तर्वार्ताको लागि छनौट भएका छन् । झापामा पनि १९ दरबन्दी फेरि पनि रिक्त हुने देखिएको छ ।

आयोगले यी तीन जिल्लाका उम्मेदवारहरुको अन्तर्वार्ता २० फागुनमा हुने जनाएको छ । तेह्रथुम जिल्लाका उम्मेदवारहरुका लागि शिक्षा विकास तथा समन्वय इकाइ, झापामा, ताप्लेजुङका उम्मेदवारहरुका लागि शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीमा र झापाका उम्मेदवारहरुका लागि शिक्षा विकास तथा समन्वय इकाइ, मोरङमा अन्तर्वार्ता हुनेछ ।

 

तपाईको प्रतिक्रिया