Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, ६ असोज २०८० । शरदयाममा नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ८ हजारभन्दा अग्ला मकालु, धौलागिरि, मनास्लुसहित १० हिमालका लागि विभिन्न ४७ देशका आरोहीलाई पर्यटन विभागले अनुमति जारी गरेको छ ।

भदौ २९ सम्म मनास्लुका लागि ३ सय १, धौलागिरिका लागि १०, पुथा हिउँचुली र कुम्भकर्णका लागि ५/५, अन्नपूर्ण चौथो, मकालु प्रथम र रक्सा उरै हिमाल आरोहणका लागि ४/४ जना विदेशीले अनुमति लिएका छन् । हिमलुङ, नेमजुङ र थापापिकका लागि २/२ गरी कुल ३ सय ३९ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

विभागले आरोहण अनुमति जारी गर्दै ३ करोड ६४ लाख रुपैयाँ सलामी दस्तुरबापत राजस्व संकलन गरेको छ । यसपटक हिमाल आरोहणका लागि चीनबाट ६७, संयुक्त राज्य अमेरिकाबाट ३३, रुसबाट २७, जापानबाट १५ सहित ३ सय ३९ जनाले आरोहण अनुमति लिएका छन् । यसमा महिला ७३ र पुरुष २ सय ६६ छन् । नेपाली आरोहीको संख्या भने ३ मात्रै छ । आरोहण अनुमति लिने क्रम मध्यमंसिरसम्म जारी रहेकाले अझै यकिन संख्या आइसकेको छैन ।

गत वर्षको शरदयाममा १ सय ७६ आरोहण दलका लागि १४ सय ४१ जनालाई विभागले अनुमति दिएको थियो । नेपालले हरेक वर्ष वसन्त, शरद र ग्रीष्म सिजनमा नेपालका हिमाल आरोहणका लागि अनुमति जारी गर्छ । यी हिमाल आरोहणका लागि सबैभन्दा धेरै सलामी दस्तुर वसन्तयाम र सबैभन्दा कम ग्रीष्मयाममा छ । नेपालले आरोहण लगायतका साहसिक गतिविधिका लागि ४ सय १९ हिमाल खुला गरेको छ । यीमध्ये ६८ हिमालमा अझै आरोहण हुन सकेको छैन ।

 

तपाईको प्रतिक्रिया