Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौँ, ६ असोज २०८० । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार अपराह्न हाङचउमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्युयोर्कबाट हाङचउ पुगेका हुन् । चीनको हाङचउ सहरमा १९ औं एसियाली खेलकुदको उद्घाटन कार्यक्रम रहेको छ ।

शनिबार चीनको हाङचउ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत दुई देशका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर शनिबार अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन् । प्रधानमन्त्री दाहाल चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । उनी हाङचउमा आयोजित १९औं एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

आइतबार प्रधानमन्त्री दाहाल चीनको राजधानी बेइजिङ जाने छन् । बेइजिङमा उनले सोमबार आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्न कार्यक्रम छ । त्यसैगरी राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । यसैगरी चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले मंगलबार चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया