Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २४ माघ २०७९ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तारमा केन्द्रित हुने भएको छ । रास्वपाले सत्ता छाडेर संगठन विस्तार र निर्माणमा केन्द्रित हुने भएको हो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछानेले ३२ दिन उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले राजीनामा दिएपछि रास्वपाका अन्य तीन मन्त्रीले पनि १९ दिनमा राजीनामा दिएका हुन् । जसमा श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीबाट तोषिमा कार्कीले राजीनामा दिएकी हुन् ।

सत्ता बाहिर बसेर संगठन निर्माणमा केन्द्रित हुने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘सरकारलाई समर्थन कायम गर्दै मन्त्री ज्यूले राजीनामा दिनु भएको छ । अब पार्टीको संगठन विस्तारमा लाग्ने छौं,’ कार्कीले भने, ‘अब पार्टी बलियो बनाएर जानुको विकल्प छैन । पार्टी बलियो भए यस्ता सरकार धेरै बनाउन सकिन्छ भन्ने छ ।’ लामिछानेले राजीनामा पछि पहिलो पटक सोमबार केन्द्रीय समिति र संसद्को बैठक बसेको थियो । बैठकले संगठन विस्तारलाई जोड दिने निर्णय गरेको हो ।

संगठन विस्तार, भेला, छलफल बैठकहरु सातै प्रदेश र ७७ जिल्लामा चलाइने रास्वपाले जनाएको छ । अहिले गण्डकी प्रदेशको मात्रै बैठक बसेको छ । पार्टीका कतिपय नेताहरुले लामिछानेको पासपोर्ट र पूर्ण फैसला नआएकाले पार्टीको स्थिति के हुने हो भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन् । पार्टीको सर्वेसर्भा सभापति भएकाले सबै मुद्दा किनारा छिनो लागेमा सहज हुने नेताहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया