शान्ति सुब्बा
गौरादह, १७ माघ २०७९ । झापाको कमल नगर जेसीजले लागुऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसार पसार सम्बन्धित विषयलाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कमलनगर जेसीजले आयोजना गरेको कार्यक्रम विशेष गरि युवापुस्ताहरुलाई लक्षित गरिएको थियो । गौरीगञ्ज गाउँपालिका-५ को फत्तेपुरको सिमा क्षेत्रमा गरिएको कार्यक्रममा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका का वडाध्यक्ष केदार कट्वालले प्रदेश नं. १ मा अझ लागुपदार्थ सेवन र ओसार पसार विकराल रुपमा बढ्दै गएकोले यसको सेवनले भविष्यमा युवा पुस्ताहरु समाज र देशको लागि असक्षम हुने भएकाले युवाहरु आफू पनि लागुपदार्थ सेवनबाट टाढा रहेर सचेत नागरिक भएर यसलाई न्यूनिकरण गर्नतर्फ लाग्नुपर्ने बताउनु भएको छ । यदि कोही व्यक्तिहरु लागुपदार्थ सेवन गर्ने वा ओसार पसार गरेर त्यसको बिक्रिवितरण गर्ने कार्य गर्दै आएका व्यक्तिहरु बारे थाहा भएमा सिमामा रहेका सुरक्षाकर्मी, अभिभावक, समाजका बुद्धिजिविले पनि त्यस्ता व्यक्तिहरुलाई खबरदारी गर्ने जनचेतना जगाउने कार्य गर्न सकेमा यसलाई न्युनिकरण गर्न सकिने बताउनुभयो ।
यस्तै, ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख जितेस दाहालले लागुपदार्थ सेवन तथा ओसारपसार का कार्यलाई नियन्त्रण गर्न ब्युरो पनि खडा गरेको जानकारी दिनुहुँदै यस कार्यलाई नियन्त्रण गर्न प्रहरी कडा रुपमा लागिपरेको बताउनु भएको छ । प्रदेश नं. १ लागुऔषध का लागि रेड जोनमा परेको बताउँदै पछिल्लो समयमा झापा लागुऔषधको लागि पहिलो नम्बरमा रहेकोले जनसमूदायहरुले पनि यस कुरामा चासो दिनुपर्ने, समुदायमा लागुऔषध सेवन गर्ने कोही व्यक्ति बारेमा आफु जानकार भएमा प्रहरीलाई सूचना दिन अघि बढेमा मात्र यसलाई न्युनिकरण गर्न सकिने बताउनु भएको छ ।
यस्तै, कार्यक्रममा ईलाका प्रहरी कार्यालय केर्खाका प्रहरी नायब निरीक्षक सुवास मिश्रले लागुपदार्थको सेवनले दैनिक जिवन, आर्थिक पक्ष, स्वास्थ्यमाथि नराम्रो असर पर्ने भएकोले यसको सेवन नगर्न आग्रह गर्नुभएको छ । यस्तै, पक्राउ गरिएका लागुपदार्थ दुर्व्यसनी सँग सोधपुछ गर्दा धेरैजसो सीमा क्षेत्रबाट लागुऔषध को ओसार पसारको कारोबार हुने भएकोले यदि त्यस्ता शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई जानकारी गराएर एउटा असल नागरीकको दायित्व पुरा गर्न आग्रह गर्नुभएको छ । लागुऔषध सेवनकर्ताले लागुऔषध सेवन गर्न विभिन्न अपराधिक घट्ना घटाउने भएकाले यसलाई न्युनिकरण गर्न समुदायका सबैजना सजग रहनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा सिमा क्षेत्रमा सचेतना जगाउने होर्डिङ्ग बोर्ड राख्नुका साथै ज्ञानोदय बोर्डिङ्ग का विद्यार्थिहरुले प्लेकार्ड सहितको शान्ति पदयात्रा, यातायातका साधनहरुमा लागुऔषध सचेतना सम्बन्धि स्टिकरहरु टाँस्नुका साथै स्टिकर वितरण समेत गरिएको थियो । यस्तै, कार्यक्रममा अधिकांश वक्ताहरुले लागुपदार्थ के हो, यसको सेवनले के असर पुर्याउँछ, युवायुवतीहरु लागुऔषध कुलतबाट कसरी बच्ने लगायतका कुराहरु व्यक्त गरेका थिए । गौरीगञ्ज गाउँपालिका कि उपाध्यक्ष पुजन न्यौपाने कुँवर प्रमुख अतिथि रहनु भएको कार्यक्रममा कमल नगर जेसीज वर्ष २०२३ अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षता रहेको थियो ।
यस्तै, गौरीगंञ्ज गाउँपालिका-५ का वडा अध्यक्ष विजयसिंह गनगाई, ईलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख चुडामणी आपागाई, कमल नगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल , कमल नगर जेसीज २०२२ का अध्यक्ष जेसी नारायण बस्नेत , कमल उद्योग वाणिज्य संघका महासचिव युवराज पाठक, लायन्स क्लब अफ गौरीगंञ्जका अध्यक्ष अर्जुन दंगाल, उद्योग वाणिज्य संघ गौरीगंञ्जका अध्यक्ष मखना महतो, शसस्त्र सिमाबल फत्तेहपुर का असई गुरुपदा दास लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कमलनगर जेसीजकि कोषाध्यक्ष कमला दाहालले जेसीज आस्था वाचन गर्नुभएको थियो । कमल नगर जेसीज वर्ष २०२३ का महासचिव जेसी हरी अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा, कार्यक्रम संयोजक जेसी तिर्थ पौड्यालले स्वागत मन्तव्य राख्नु भएको थियो ।