Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ माघ २०७९ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको बताए ।

लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । ‘उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’ अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।

तपाईको प्रतिक्रिया