Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ४ पुस २०७९ । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ ।

भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले ज्ञापन पत्र बुझाउनुभएको हो ।

‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य रहेको जिसीले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुनेतर्फ ज्ञापन पत्रमा सचेत गराइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया