Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ३ पुस २०७९ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव जनार्दन शर्माले शपथ ग्रहण भएपछि मात्रै सरकार गठनको प्रक्रियामा जानुपर्छ भन्ने आफूहरुको मत रहेको बताउनुभयो ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र दिए पनि पद तथा गोपनीयताको शपथ भने भएको छैन । सङ्घीय संसद्को बैठक आह्वान नभईकन शपथ ग्रहण हुने अवस्था छैन । आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई भने बुझाइसकेको छ ।

यस्तै, उपमहासचिव शर्माले गठबन्धन दलका बीचमा भएको छलफलका आधारमा प्रमुख पदहरुमा बाँडफाँटपछि हुने बताउनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन लगायतका विषयमा गठबन्धनका दलहरुबीच भइरहेको छलफलका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष दाहालले राज्यका सबै प्रमुख पदहरुमा सहमतिका आधारमा बाँडफाँट हुनुपर्ने आफूहरुको धारणा रहेको बताउनुभएको बुझिएको छ ।

उपमहासचिव शर्माले पनि राष्ट्रपति लगायतका प्रमुख पदमा गठबन्धन दलका बीचमा छलफल गरेर नै एउटा निष्कर्षमा पुगिने जानकारी दिनुभयो । यसपटक माओवादीले आफ्नो नेतृत्वमा नै गठबन्धनको सरकार बनाउने दाबी गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया