Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सिरहा, ३ मंसिर ।  सिरहामा गत एक महिनाभित्र सातवटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

यीमध्ये धेरैजसो बलात्कारका घटना चाडपर्वका समयमा भएका छन् । कात्तिकको पहिलो साता मात्रै चारवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । त्यस्तै सिरहाको सुखीपुर २ मा कात्तिक २७ गते एक २६ वर्षीया महिला बलात्कारमा परेको सार्वजनिक भएको छ ।

महिला बलात्कृत भएको दुई दिनपछि सुखिपुर नगरपालिका –२ का ३० वर्षीय मोहमद समशुललाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले नियन्त्रण लिएको छ ।

यसैगरी भाइटीकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कारमा संलग्न तीन जनाको नाम खुलेको र चारजनाको नाम नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।

लहान नपा–११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेपनि बाँकी चार जनाको नाम नखुलेको डिएसपी थापाले बताए ।

उता, गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कारको आरोपमा उजुरी दर्ता भएको छ ।

आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएका थिए ।

यस्तै, वरियारपट्टीमा एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३१ वर्षीय मुकेश सहनी र सोही ठाउका २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते नियन्त्रण लिएको छ ।

यता, लहान २४ मा कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेकी एक १९ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जनामाथि प्रहरीमा उजुरी परेको छ ।

तपाईको प्रतिक्रिया