Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा

गौरादह, १० असोज २०७९ । झापाको गौरादहमा थप एक जनामा डेंगु संक्रमण पुष्टी भएको छ । गौरादह नगरपालिका-४ स्थित चिउरा मिल का १८ वर्षिय एक युवकमा डेंगु देखा परेको गौरादह नगर अस्पतालका फोकल पर्सन रामकृष्ण जोशीले जानकारी दिनुभयो । संक्रमित बिरामीको अवस्था सामान्य रहेको जोशीले बताउनु भएको छ । केहि दिन अघि मात्र पहिलो पटक गौरादह-१ गुरुङ्ग चोकका ८ वर्षिय बालकमा पनि डेंगु पुष्टी भएको थियो । यो सँगै गौरादहमा थप २ जनामा डेंगु संक्रमण पुष्टी भएको छ ।

डेंगु एडिस एजिप्टाइ जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। यसको संक्रमणमा सुरूवाती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ। संक्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन्। रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ। शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ। रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा (सामान्य ज्वरो हुँदा) नै चिकित्सकको निगरानीमा उपचार गराउनु उत्तम हुनेछ।

डेंगु रोग सार्ने लामखुट्टे फैलिन नदिन खुला भाँडामा राखेको पानि छोपेर राख्नुपर्ने, पुराना टायर, फालिएका बोतललगायत वस्तुहरूमा जमेको पानीमा लामखुट्टे पाइने भएकाले घर वरपर पानी जम्ने वस्तुहरू भए पुरिदिने, आफ्नो घर वरपर सरसफाइमा बढि भन्दा बढि ध्यान दिनुपर्ने जोशीले बताउनुभएको छ । डेंगु रोग संक्रमण भईसकेपछि बिरामीको आफन्तले बिरामीलाई झोलिलो खानेकुरा, फलफुल खुवाउने, बिरामीलाई ७ देखि १० दिन सम्म झुल भित्र राखेर सरसफाईमा ध्यान दिने गर्नाले डेंगु नियन्त्रणमा आउन सक्ने बताइएको छ । डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घरको वरीपरी लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

गौरादह नगरपालिका का स्थानीयबासीले डेंगु संक्रमणको परिक्षण गर्नुपरेमा गौरादह-१ मा रहेको गौरादह नगर अस्पतालमा निःशुल्क परिक्षण गराउन सकिने गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले बताउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया