Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ८ असोज २०७९ । देशभर महामारीको रुपमा प्रत्येक दिन बढ्दै गइरहेको डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशको ७६ जिल्लामा २२ हजार ९ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अन्तर्गत सबैभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, लुम्बिनीमा २ हजार ८ सय २१, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ५ सय ९१, गण्डकीमा ५ सय १५, मधेश प्रदेशमा ३ सय २३ र कर्णाली प्रदेशमा २ सय ३० जनामा डेंगु संक्रमण पुष्टि भएसँगै २२ हजार ९ सय ८८ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठ्माडौंमा ७ हजार ३ सय ८० जनामा संक्रमण पुष्टी भएको छ । ललितपुरमा ५ हजार ५ सय ८५, मकवानपुरमा २ हजार १ सय ३५, दाङमा १ हजार २ सय ७८, भक्तपुरमा १ हजार ५०, रुपन्देहीमा ७ सय ८, चितवनमा ५ सय ५२, धादिङमा ४ सय ४९, कैलालीमा २ सय ९८, र गुल्मीमा २ सय ९२, गरी १० जिल्लामा सबै भन्दा बढी १९ हजार ७ सय २७ जनामा डेंगु पुष्टि भएको छ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपको रुपमा देखा पर्ने गरेको छ । नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। त्यतीबेला १ जनामा संक्रमण देखिएको थियो । सन् २००६ मा ३२ जनामा, सन् २००७ मा २७ जनामा, सन् २००८ मा २७ जनामा, सन् २००८ मा १० जनामा, सन् २००९ मा ३० जना, २०१० मा ९ सय १७ जनामा, २०११ मा ७९ जनामा, २०१२ मा १ सय ८३ जनामा, २०१३ मा ६ सय ८६, २०१४ मा ३ सय ५६ मा, २०१५ मा १ सय ३५, २०१६ मा १ हजार ५ सय २७, २०१७ मा २ हजार १ सय ११, २०१८ मा ८ सय ११, २०१९ मा १७ हजार ९ सय ९२, २०२० मा ५ सय ३०, २०२१ मा ५ सय ४० जनामा डेंगु संक्रमण देखिएको थियो ।

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ। डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकोले सचेत रहन चिकित्सकको सुझाव छ।

डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्दछ। लामखुट्टेको अलावा मनिसहरुको तिब्र बसाइँसराई र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया