शान्ति सुब्बा
गौरादह, ८ असोज २०७९ । झापाको गौरादहमा पहिलो पटक डेंगुको बिरामी फेला परेको छ । दिनप्रतिदिन प्रकोपको रुपमा फैलिरहेको डेंगु गौरादह-१ गुरुङ्ग चोक का ८ वर्षिय बालकमा देखा परेको गौरादह नगर अस्पतालका फोकल पर्सन रामकृष्ण जोशीले जानकारी दिनुभयो । गौरादहमा पहिलो पटक डेंगुको बिरामी फेला परेको जोशीले बताउनु भएको छ । डेंगु संक्रमित बिरामीको अवस्था सामान्य रहेको र अहिले एड्भान्स हस्पिटल दमकमा उपचाररत रहेको जोशीले बताउनुभयो ।
डेंगु रोग सार्ने लामखुट्टे फैलिन नदिन खुला भाँडामा राखेको पानि छोपेर राख्नुपर्ने, पुराना टायर, फालिएका बोतललगायत वस्तुहरूमा जमेको पानीमा लामखुट्टे पाइने भएकाले घर वरपर पानी जम्ने वस्तुहरू भए पुरिदिने, आफ्नो घर वरपर सरसफाइमा बढि भन्दा बढि ध्यान दिनुपर्ने जोशीले बताउनुभयो । डेंगु रोग संक्रमण भईसकेपछि बिरामीको आफन्तले बिरामीलाई झोलिलो खानेकुरा, फलफुल खुवाउने, बिरामीलाई ७ देखि १० दिन सम्म झुल भित्र राखेर सरसफाईमा ध्यान दिने गर्नाले डेंगु नियन्त्रणमा आउन सक्ने बताइएको छ । डेंगु परिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय झापाबाट गौरादह नगर अस्पताललाई ३० पिस किट प्राप्त भएको जोशीले जानकारी दिनुभयो ।
यस्तै,गौरादहमा डेंगु देखा परेसँगै भोलि(आइतबार) सबैको सहभागितामा बैठक बसि डेंगु रोकथाम, नियन्त्रण र सचेतना मुलक कार्य सञ्चालनका लागि छलफलको कार्यक्रम गरिने जनाएको छ । डेंगु सरुवा रोग नभएपनि यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घरको वरीपरी लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।
गौरादह नगरपालिका का स्थानीयबासीले डेंगु संक्रमणको परिक्षण गर्नुपरेमा गौरादह-१ मा रहेको गौरादह नगर अस्पतालमा निःशुल्क परिक्षण गराउन सकिने गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।