Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
गौरादह, ६ असोज २०७९ । झापामा ५३ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । जिल्लाको १५ वटा पालिकाहरु मध्ये ८ वटा पालिकाबाट ५३ जनामा डेंगु संक्रमण पुष्टी भएको हो ।

प्रकोपको रुपमा दिन प्रतिदिन बढ्दै गइरहेको डेंगु संक्रमण सबैभन्दा बढि हल्दिबारी गाउँपालिकामा ८ महिला र ८ पुरुष गरि १६ जनामा देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिकामा ९ पुरुष र ५ महिलामा गरि १४, दमक नगरपालिकामा ६ जना पुरुषमा, कमल गाउँपालिकामा ४ पुरुष र २ महिला गरि ६, मेचिनगर नगरपालिकामा ४ पुरुष र २ महिला गरि ६, झापा गाउँपालिकामा २ पुरुष र १ महिला गरि ३ जना, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकामा १/१ जना महिलामा डेंगु संक्रमितका बिरामी फेला परेको फोकल पर्सन दासले बताउनुभयो । ५३ संक्रमित सबैको हालको अवस्था सामान्य रहेको जनाइएको छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ–डेन १, डेन २, डेन ३ र डेन ४ । झापामा देखा परेको डेंगु संक्रमण डेन १ रहेको फोकल पर्सन दासले बताउनुभयो । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । यस्तै, जनस्वास्थ्य कार्यालय झापाले डेंगु परिक्षणको लागि जिल्लाका १५ वटै पालिकाको स्वास्थ्य केन्द्र र अस्पतालहरुमा निशुल्क किट उपलब्ध गराएको जनाएको छ । डेंगु नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सबै पालिकाहरुमा लार्भा नष्ट गर्ने अभियान चलाउनु पर्ने साथै वरीपरी पानि जम्न नदिने, सरसफाइमा ध्यान दिनुपर्ने फोकल पर्सन दासले बताउनुभयो ।

कार्यालयले मेची अञ्चल अस्पताल भद्रपुर, दमक अस्पताल, धुलाबारी नगर अस्पताल लगायत सबै पालिकाको नगर अस्पतालमा सो किट उपलब्ध गराइएको जनाएको छ ।

यस्तै, गौरादह नगरपालिका का स्थानीयबासीले डेंगु संक्रमणको परिक्षण गर्नुपरेमा गौरादह-१ मा रहेको गौरादह नगर अस्पतालमा नि:शुल्क परिक्षण गराउन सकिने गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच, गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि सूचना जारी गर्दै देशभर महामारीको रुपमा फैलिरहेको डेंगु रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक कार्यहरु, खोज र नष्ट गर कार्य संचालन गर्ने जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ । डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्दछ।डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकोले सचेत रहन चिकित्सकको सुझाव छ।

तपाईको प्रतिक्रिया