Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ५ असोज २०७९ । देशभर डेंगु संक्रमण पुष्टी हुनेको संख्या १९ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशको ७५ जिल्लामा १९ हजार २३ जनामा संक्रमण पुष्टि भएको हो । महामारीको रुपमा प्रत्येक दिन बढ्दै गइरहेको डेंगु संक्रमणबाट मृत्यु हुनेको सख्या २४ पुगेको छ ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपको रुपमा देखा पर्ने गर्छ। यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको डेंगु संक्रमण को रेकर्डलाई यस वर्ष तोड्दै १९ हजार २३ जनामा संक्रमण देखिएको छ । २०१९ मा १७ हजार ९ सय ९५ जनामा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो। नेपालमा पहिलो पटक २०६१ मा १ जनामा डेंगु भेटिएको थियो ।

प्रदेश अन्तर्गत सबैभन्दा धेरै बागमती प्रदेशमा १४ हजार १ सय ५४ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, लुम्बिनीमा २ हजार ६ सय ८३, सुदूरपश्चिममा ६ सय ५६, प्रदेश १ मा ५ सय ७९, गण्डकीमा ४ सय ५०, मधेश प्रदेशमा २ सय ९४ र कर्णाली प्रदेशमा २ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै १९ हजार २३ जनामा डेंगु संक्रमण पुष्टी भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठ्माडौंमा ५ हजार १ सय ३१ जनामा संक्रमण पुष्टी भएको छ । ललितपुरमा ५ हजार १ सय ४, मकवानपुरमा १ हजार ८ सय २९, दाङमा १ हजार १ सय ८०, भक्तपुरमा ७ सय १३, रुपन्देहीमा ६ सय ७९, चितवनमा ४ सय ५१, धादिङमा ३ सय ९९, गुल्मीमा २ सय ९२, र कैलालीमा २ सय २ गरी १० जिल्लामा सबै भन्दा बढी १५ हजार ९ सय ८० जनामा डेंगु पुष्टि भएको छ।

डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकोले सचेत रहन चिकित्सकको सुझाव छ।

 

तपाईको प्रतिक्रिया