Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २९ भदौ २०७९ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार हालसम्म ७५ जिल्लाबाट ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढेसँगै साउन यता ९ जनाको डेंगु संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार दुई हप्तामा ६ हजार ४ सय ७२ जनामा डेंगु पुष्टि भएको छ। सबै भन्दा बढी १० जिल्लाबाट ५ हजार ४ सय ३ जनामा डेंगु पुष्टि भएको छ। योसँगै हालसम्म ७५ जिल्लाबाट ११ हजार ६५ जनामा डेंगु पुष्टि भएको डा. ठाकुरले जानकारी दिनुभयो।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार ३ सय ९० जनामा भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय २१, प्रदेश १ मा ३ सय ४७, सुदूरपश्चिममा ३ सय २३, गण्डकी प्रदेशमा २ सय २४, मधेश प्रदेशमा १ सय ९८ र कर्णाली प्रदेशमा १ सय ६२ जनामा डेंगु पुष्टि भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर ३ हजार ७९३, काठमाडौंमा २ हजार ५ सय ६९, मकवानपुरमा १ हजार १ सय १२, रुपन्देहीमा ५ सय ९४, दाङमा ३ सय ७८, भक्तपुरमा २ सय २०, चितवनमा १ सय ७९, धादिङमा १ सय ४०, काभ्रेप्लाञ्चोकमा १ सय २९ र तेह्रथुममा १ सय १२ गरी १० जिल्लामा सबै भन्दा बढी ९ हजार २ सय २६ जनामा डेंगु पुष्टि भएको छ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपका रुपमा देखा पर्ने गर्छ। यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको थियो। सोही समयमा १७ हजार ९ सय ९५ जनामा मा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो।

डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने सचेत रहन चिकित्सकको सुझाव छ।

यसैबीच, सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।

नेपालमा पहिलो पटक २०६१ मा १ जनामा डेंगु भेटिएको थियो ।

तपाईको प्रतिक्रिया