Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

 चितवन, २८ कात्तिक । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पुर्याएका छन् ।

मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् ।

आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ । कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगि कार्यालयभित्र नै बालेका थिए ।

प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उनीहरुले विश्वविद्यालयका झ्यालका सिसासमेत फुटाएर क्षति गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको छ ।

दुई वर्षअघि मात्रै सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले विश्वविद्यालयको होस्टलमा बसेर आगजनीको योजना बनाएको प्रहरीले जनाएको छ ।

आगजनी गरेको आरोपमा प्रहरीले प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । तर, तीमध्ये दुई जनालाई छाडिएको छ ।

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सुदर्शन खराल, चन्दन केसी, उमेश थापा, ज्ञानेन्द्र राई, अरुण चपाई, किरणा रोकामगर, प्रवेश आचार्य, अनिल अधिकारी, दिनेश भट्ट, मुक्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौंरले बताए ।

सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका नाममा पनि विश्वविद्यालयमा पटकपटक तालावन्दी गरिएको छ ।

गएको असार २० गते विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्वन्धन दिने निर्णय गरेको थियो । सो निर्णय मन्त्री परिषद्को साउन १४ गते बसेको बैठकले खारेज गरेको छ । तर, मन्त्री परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले त्यो निर्णय कार्यन्वयन नगराउन गत असोज ९ गते आदेश गरेको छ ।

रिट उपर अन्तिम आदेश आउन बाँकी नै छ । आगामी पुस २६ गते यो रिटको पेशी तय भएको छ । विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । सर्वोच्चको आदेश कार्यान्वयनका लागि भन्दै विश्वविद्यालयले भर्ना खोलेको पदाधिकारीहरुले जनाउँदै आएका छन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा।मनराज कोलाक्षपतिले सर्वोच्चको अन्तरकालीन आदेश अनुसार भर्ना प्रकृया सुरु गरिएको बताए ।

निर्णयअनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ । सर्वोच्चको आदेश र विश्वविद्यालयले भर्ना लिनसक्ने भन्दैं विद्यार्थी संगठनहरुले गत भदौं २६ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका थिए । त्यसयता विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया