झापा, २ चैत २०७८। अक्सनमार्फत खेलाडी छनोट गरी झापा जिल्लामै पहिलो पटक झापा सुपर लिग ९जेएसएल० क्रिकेट प्रतियोगिता हुन लागेको छ । लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा नयाँ वर्ष २०७९ को सुरुवातसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म जेएसएल क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
एकेडेमीले मङ्गलवार काँकडभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
काँकडभिट्टा खेल मैदानमा आयोजना गरिने उक्त प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।
प्रतियोगितामा खेलाडी छनोट अक्सन मार्फत हुने र अक्सनको अनलाइन फारम मङ्गलवार बेलुका ५ बजेपछि खुलाइने छ । क्रिकेटलाई व्यावसायिक रुपमा विकास गर्ने उद्देश्यले यस्तो खालको प्रतियोगिता जिल्लामै पहिलो पटक गर्न लागेको अध्यक्ष विकेले बताए ।
प्रतियोगितामा पाँच टिम सहभागी हुने छन् । हालसम्म चार वटा टिमको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा प्रवीण अग्रवालको धुलाबारी टाइगर्स, अर्पण राईको भद्रपुर राइजिङ किङ्स, सुमन प्रसाईँको विराट वारियर्स र शोभित बास्तोलाको बोस्टन इगल्स टिम टुङ्गो लागिसकेको उनले बताए । टुङ्गो लागिसकेको टिमका सञ्चालकलाई आयोजक समितिले पत्रकार सम्मेलनमै पोसाक वितरण वितरण गरेको छ ।
प्रतियोगितामा प्रत्येक टिमले अक्सनमार्फत राष्ट्रिय स्तरका एक खेलाडी प्रदेश स्तरका दुई खेलाडी र जिल्लाभित्रका बाँकी खेलाडी खरिद गर्नुपर्ने हुन्छ । खेलाडी छनोटमा एउटा टिमले बढीमा ६० हजार रुपैयाँ सम्म खर्च गर्न नियम राखिएको छ ।
प्रतियोगितामा मार्कि खेलाडीलाई ५ देखि ८ हजार सम्मको बोली लगाउन पाइनेछ भने (ए) लेबलको खेलाडीलाई ४ देखि ५ हजारसम्म, (बी) लेबलका खेलाडीलाई ३ हजारदेखि ४ हजार ५ सयसम्म र (सी) लेबल खेलाडीलाई २ हजारदेखि ३ हजार ५ सयसम्म बोली लगाएर खरिद गर्न पाउनेछ ।
त्यस्तै इमेर्जिङ प्लेयरलाई १ हजार ५ सय देखि २ हजार ५ सय सम्मको बोली लगाउन पाउनेछ । खेलाडीलाई अक्सनमार्फत खरिद गर्दा दुई वा सो भन्दा बढी टिमले एउटै बोली लगाएको खण्डमा टसमार्फत खेलाडी खरिद गर्ने प्रावधान राखिएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद २ लाख ११ हजार र उपविजेता टिमलाई नगद १ लाख ११ हजारसहित ट्रफि प्रदान गरिने छ । प्रतियोगिताको वेस्ट बलरले १० हजार, वेस्ट प्लेयरले १५ हजार, वेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय राखिएको छ ।
त्यस्तै खेलमा खेलाडीले हानेको छक्का मैदान बाहिर क्याच गर्ने खेल प्रेमी वा दर्शकलाई १ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिने छ । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समेत आउने र प्रतियोगिता भव्य हुने आयोजक समितिको विश्वास छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी तथा हालका सहायक प्रशिक्षक मनोज कटुवाल, झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पत्रकार पर्वत पोर्तेलले गरेका थिए ।