Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, ४ माघ २०७८ । सरकारले देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित केन्द्रका पदाधिकारी सहभागी थिए । बैठकले यसअघि बन्द गरिसकिएका विद्यालयहरु खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म खुलाउने निर्णय गरेको हो ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए । ‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयमा कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौं,’ कोइरालाले भने, ‘हामीले निर्णय गरेका छौं, सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’

बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै, विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउन पर्ने, अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै, बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिड विरुद्धको खोप लगाउने, विदेशबाट नेपालभित्रने नाकामा एन्टीजेन परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने र नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोपको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, स्वास्थ्य सचिव डा। रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत केन्द्रका अधिकारीहरु सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया