Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २ माघ २०७८ । आजदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली सुरु भएको छ । सर्वोच्च फुलकोर्टको बैठकले दुवै तहका अदालतमा पनि गोलाबाट पेसी तोक्ने निर्णय गरेको थियो ।

फुलकोर्टले यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरेको थियो । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाबाट पेसी तोकिएको थियो ।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको विकृतिविहीन न्यायालय अध्ययन प्रतिवेदनले मुद्दाको पेशी तोक्ने कार्यमा समेत अनियमितता हुने गरेको प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनले पेसी तोक्ने अधिकार स्वचालित रुपमा हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएको थियो ।

सर्वोच्च अदालतले गठन गरेको समितिले करिव १ वर्ष लगाएर गरेको अध्ययनमा उक्त निष्कर्षपछि गोला प्रणाली लागू गर्न चौतर्फी दवाव सिर्जना भएको थियो ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिवेदनमा भएको गोला लागू हुन नसक्ने भनी सार्वजनिक टिप्पणी गरेपछि उहाँविरुद्ध सर्वोच्चका न्यायाधीश नै आन्दोलनमा उत्रिएका थिए । न्यायाधीशको आन्दोलन पछि मंसिर १५ गतेदेखि गोलाबाट पेसी तोक्ने निर्णय भएको थियो । सर्वोच्चमा गोलाप्रथा लागू भएपछि स्वागत गर्दै उच्च र जिल्लामा पनि माग हुँदै आएको थियो ।

बारको उक्त मागपछि फुलकोर्टको बैठकले नियमावली संशोधन गरेर माघ २ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया