Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं, २१ कात्तिक ।  वरिष्ठ अधिवक्ता कुशुम श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।

श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका श्रेष्ठको बुधबार बिहान निधन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए। तनहुँ बन्दीपुरमा जन्मिएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गरेका थिए।

सर्वोच्च अदालत बारको पहिलो अध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको पनि अध्यक्ष भएका थिए। कानूनसम्बन्धी धेरै पुस्तक र लेख प्रकाशन गरेका श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिएका विपी कोइरालालगायत नेताको पक्षमा कानूनी बहस पैरवी गरेका थिए।

नेपालको कानूनी शिक्षा, संवैधानिक विकासका अतिरिक्त अनुशासित र मर्यादित कानून व्यवसायीका रूपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले बताए।

श्रेष्ठकी श्रीमती, तीन छोरा र एक छोरी छन्। उनको शव बिहीबार श्रद्धाञ्जलिका लागि दिउँसो १ देखि ४ बजेसम्म नेपाल बारमा राखिने छ भने साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments