गौरादह, २५ मंसिर २०७८ । झापामा भएको सवारी दुर्घटनामा भेन चालकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् । आज बिहान भएको दुर्घटनामा बाह्रदशी गाउँपालिका वडा नं. १ भागडुब्बाका ३४ वर्षिय मिलन उप्रेती भन्ने प्रमोद चन्द उप्रेतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । बाह्रदशी गाउँपालिका-३ त्रिवेणी चोकमा चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भेन एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका सोही गाउँपालिका वडा नं १ कि ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको विर्तामोडस्थित बिएण्डसी अस्तालमा उपचार भइरहेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






