झापा, १८ मंसिर २०७८ । विगतमा महामारीकै रुपमा देखिएको डेङ्गु रोग यसपटक पनि झापामा देखापरेको छ । जिल्लाका दुईवटा पालिकामा मात्र ९ जना डेङ्गुका बिरामी फेला परेका छन् ।
बिर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चारजना बिरामी फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्यांकमा देखिएको छ । हाल उनीहरू बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा शुवेश सौरवले १० दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिए ।
बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ । उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताए । डेङ्गु रोगी देखिए लगत्तै घरदैलोमार्फत् नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताए ।
मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चारजना डेङ्गुका बिरामी फेला परेका छन् । पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएसँगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताइन् ।
उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपटक मंसिर महिनामा बढी देखिएको बताइन् । पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । सो जमेको पानीको पहिचान गर्दै सबै पालिकाले डेङ्गुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए ।
उनका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । उनले तराईको जिल्ला भएका कारण झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने विज्ञहरू बताउँछन् । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्नसक्ने घिमिरेले बताए ।
यस्तै कार्यालयसँगै डेङ्गु रोगीको तथ्यांक नभएको बुझिएको छ । उनले भने, ुपालिकामै बजेट आउँछ, सचेतनामूलक कार्यक्रम पालिकले नै गर्छन् । उनीहरूले दिएको विवरणको आधारमा कार्यालयमा तथ्यांक राखिन्छ । ठ्याक्कै भन्न सकिन ।ु
जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५०० बिरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्यांकीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेको उनको भनाइ छ ।रासस