Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा,१६ मंसिर २०७८ । मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु जस्तै स्नायु, मिर्गौला, मुटुका साथै आँखामा विभिन्न जटिल समस्याहरु निम्त्याउँछ । पटकपटक आनो आउने, आँखा सुख्खा हुने, छिटो-छिटो चस्माको पावर परिवर्तन हुने, मोतिविन्दु छिटो देखा पर्ने, जलविन्दुको सम्भावना बढि हुनेलगायत आँखाको पर्दामा गम्भीर असर देखापर्छ ।

यसरी रेटिनामा देखा पर्ने जटिलतालाई डायबेटिक रेटिनोपेथि भनिन्छ जसले अन्त्यमा मानिलाई दृष्टिबिहीन पनि बनाउन सक्छ । एक तथ्याकं अनुसार संसारमा ४.८ प्रतिशत अन्धोपना यहि कारणले हुने गरेको पाइएको छ ।

मधुमेहले मुख्यतः आँखाको पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ । मधुमेहको राम्रो नियन्त्रण नहुँदा ग्लूकोजको मात्रा बढ्न गइ रेटिनाका रक्तनलीमा प्रतिकुल असर पर्छ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजल तथा रक्तश्राव हुनगइ दृष्टि कमजोर हुन्छ ।

यदि समयमै उपचार नभएमा अनावश्यक नयाँ रक्तनलीहरुको विकास भइ दृष्टि सदाका लागि गुम्न सक्छ । यो समस्या केहि समयपछि मधुमेहका प्राय सबै बिरामीमा देखा पर्छ । रेटिनामा असर भएपनि व्यक्तिलाई कुनै लक्षण हुँदैन । दृष्टि धमिलो हुँदा पर्दामा अपुरणीय क्षति भइसकेको हुनसक्छ ।

मधुमेहले हुने अन्धोपनाबाट कसरी बच्ने?

चिनी रोगलाई सबै नियन्त्रणमा राख्नुपर्छ । मधुमेह रोग पहिचान हुनासाथ र त्यसपछि कम्तिमा वर्षमा एकपटक नियमित आँखाको नानी फुलाई नेत्र चिकित्सकसँग आँखाको परीक्षण गराउनुपर्छ ।अन्यथा आँखा देख्न कम भएपछि मात्र अस्पताल आउँदा मधुमेहले आँखामा धेरै गम्भीर असर पारिसकेको हुनसक्छ जसले गर्दा दृष्टि बचाउन गाहे पर्न सक्छ । मधुमेहले मिर्गौलामा असर गरिसकेकाहरुमा उच्च रक्तचापको समस्या र गर्भवतीका आँखामा असर धेरै देखिने भएकाले यस्ता खालका व्यक्तिहरुले विशेष सावधानी अपनाउनुपर्छ ।

धुमपानबाट टाढा रहनुपर्ने हुन्छ । मधुमेहले आँखामा असर गरिसकेको भए नेत्र विशेषज्ञको सल्लाह अनुसार नियमित आँखा परीक्षण तथा उपचार गराउनुपर्छ । अतः रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राखि रोगको गम्भीरता अनुसार समयमै आँखाको उपचार गर्न सकिन्छ । अन्यथा आँखाको ज्योति सधैंका लागि गुमाउनुपर्ने हुन्छ।

स्रोत:तीलगंगा आँखा प्रतिष्ठान

तपाईको प्रतिक्रिया