Online Bichar
शनिबार, जेठ २०, २०८० | Saturday, June 3, 2023

 

बाँकेः अस्थायी छाप्रोमा बसिरहेका राप्ती–सोनारी गाउँपालिका टिकुलीपुरका बाढीपीडितलाई रात गुजार्न मुस्किल परेको छ। अस्थायी रूपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न नसकेपछि चिसोले रात गुजार्न मुस्किल परेको बाढीपीडितले गुनासो गरेका छन्।

त्रिपालबाट शीत तपतप चुहिने र स्याउलाले बनाएको छाप्रोेले हावा र शीत छेक्न नसक्दा यसपालिको जाडो कटाउन मुस्किल पर्ने राप्ती–सोनारी गाउँपालिका– २, टिकुलीपुरकी बाढीपीडित मञ्जु विकले दुखेसो पोखिन्। ‘त्रिपालबाट शीत तपतप चुहिन्छ, रातभर मुख ढाकेर सुत्नुपर्छ, बिहान उठ्दा ओढेको कपडा निथ्रुक्क भिजेको हुन्छ’, उनले भनिन्, ‘यसपालि जाडो कटाउन मुस्किल पर्ला जस्तो छ।’ बाढीले घर भत्किँदा सिरक, डसना घरमै पुरिएको सिद्धसाई कुमारी सामुदायिक वनमा बस्दै आएकी टिकुलीपुरकी डोल्मा विकले बताइन्। उनले रातभर भिजेको लुगा दिउँसो सुकाएर ओढ्ने गरेको बताइन्। ‘सिरक, डसना पनि छैन, पातलो लुगा ओढ्यो, त्यो पनि रातभरमा भिजेर ओढ्न मिल्दैन’, डोल्माले गुनासो गरिन्।

बालबालिका र वृद्धवृद्धा चिसोबाट प्रभावित छाप्रो र त्रिपालबाट शीत चुहिने र चिसो हावा लाग्ने भएपछि सिद्ध साई कुमारी सामुदायिक वनमा बस्दै आएकाहरू बिरामी परेका छन्। चिसो लागेपछि रुघा, खोकी र ज्वरोले थलिएको स्थानीय सीताराम जैसीले बताए। उनले भाइरल ज्वरोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको बताए। चिसोले बालबालिकालाई निमोनिया लाग्ने र ज्येष्ठ नागरिकलाई रुघा, खोकी लागेको उनले जानकारी दिए। ‘युवा र जवान खासै प्रभावित नभए पनि चिसोले वृद्धवृद्धा र बालबालिकालाई जोगाउनै मुस्किल भएको छ’, उनले भने। चिसोले रात बिताउन गाह्रो भएको सिद्ध साई कुमारी सामुदायिक वनमा बस्दै आएका खिमबहादुर विकले बताए। उनले शीत र हावाको झोँकाले हानेका कारण रुघा, खोकी र ज्वरोले सताएको बताए। ‘जवान छोराछोरी र बुहारीहरूले सानोतिनो जाडो सजिलै कटाउँछन्, हामी वृद्धवृद्धालाई यसपालिको जाडो कसरी कटाउने भन्ने चिन्ता छ’, उनले भने।

प्रति महिना ५० देखि सय रूपैयाँमा पिउने पानी राप्ती–सोनारी गाउँपालिका– २, शम्शेरगन्जका बाढीपीडितलाई खाद्यान्नभन्दा पानीको चिन्ता छ। दुर्गा सामुदायिक वनमा बस्दै आएका शम्शेरगन्जका ६० परिवार बाढीपीडितले एउटा इनार बनाएका छन्। तर, उक्त इनारको पानी पिउनमा प्रयोग नभएपछि उनीहरूले पानी किनेर पिउन बाध्य छन्। इनारको पानी दूषित भएकाले लुगा धुन र भाँडाबर्तन माझ्न मात्र प्रयोग गर्दै आएको रूपा थारूले बताइन्। उनले पिउने पानीका लागि एक किलोमिटर पर जानुपर्ने बाध्यता रहेको बताइन्। ‘इनारको पानी पिउन मिल्दैन, शुल्क नतिरे पानी पिउन पाइँदैन’, उनले भनिन्।

पिउने पानीवापत प्रति परिवार मासिक ५० रूपैयाँदेखि १०० रुपैयाँसम्म तिर्दै आएको नयाँ बस्तीकी रामकली थारूले बताइन्। उनले स्थानीय सोमई मगरको निजी हेन्डपम्पको पानी प्रयोग गरेवापत परिवार संख्या हेरेर पानीको शुल्क तिर्दै आएको बताए। ‘सानो परिवारले मासिक ५० रुपैयाँ र ठूलो परिवारले १०० रूपैयाँ शुल्क तिर्नुपर्छ’, उनले भनिन्। नयाँ बस्तीमा ६० परिवार बाढीपीडित बस्दै आएका छन्।
थाहा खबरबाट साभार

तपाईको प्रतिक्रिया