झापा, ३१ असोज २०७८ । अबको केही दिन धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन् । केही दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न कृषि विज्ञले सुझाव दिएका हुन् ।
धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न हरिकृष्ण उप्रेतीको सुझाव छ । उनका अनुसार धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्नुपर्छ र पछि घाम लागेका बेला सुकाउनुपर्छ ।
ओभानु ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउने गर्नु पर्छ । त्यसो गर्न सकेमा नोक्सान हुन बाट जोगाउन सकिने उनले बताए ।
केही दिन धान नकाट्दा पनि फरक नपर्ने अवस्थामा भने धान नकाटिकनै खेतबारीमै छोड्न उनको सुझाव छ ।
अहिले सुदूरपश्चिमलगायत तराईंका धेरै जिल्लामा छोटो समयमा पाक्ने जातका धान काट्ने बेला भएको छ । राधा ४, सर्जु ५२, घैया एक र घैया दुई लगायतका छोटो समयमा पाक्ने धान हुन् ।