Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं, २२ असार २०८३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिएका छन् । सोमबार राष्ट्रियसभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सात हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताए ।

उनले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने उल्लेख गरे । प्रस्तावित ऐनमा सात हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नपाइने प्रावधान समावेश गरिने तयारी छ, मन्त्री पौडेलले भने ।

यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने बताए । सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उल्लेख गरे ।

सगरमाथामाथिको प्रेसर बढी भयो, सगरमाथा चढ्नेहरूको भीडलाई नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा आउने कुरामा म पनि सहमत छु, यसको लागि पर्यटनसम्बन्धी ऐन बन्दैछ, नियमावली, कार्यविधिहरू बन्दैछन्, त्यसमा ७ हजारमाथिमा हिमालहरू नचढीकन सगरमाथा चढ्न नपाउने प्रकारका प्रावधान अब हामीले बनाउँदैछौँ,ू उनले भने ।

उनले एकै प्रकारको पर्यटन प्रवर्द्धन दिगो नहुने उल्लेख गरे । पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि आवश्यक हवाई रुटको लागि कूटनीतिक पहल गरिरहेको जानकारी दिए । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया