Online Bichar
मंगलबार, आश्विन २७, २०८३ | Tuesday, October 13, 2026

विराटनगर, २७ असोज २०८३ । विराटनगरको काली मन्दिरनजिक सञ्चालित फेन्सी कपडा पसलमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट पसलमा बिक्रीका लागि राखिएका कपडा जलेर नष्ट भएका छन्।

विराटनगर महानगरपालिका–९ स्थित काली मन्दिरमा कन्हैयालाल साहको घर भाडामा लिएर कुन्दन शाहले सञ्चालन गर्दै आएको जय श्री सम्बोधन फेन्सी कपडा पसलमा आगलागी भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सोमबार राति आगलागी भएको भए पनि घटनाको यकिन समय खुल्न सकेको छैन। प्रहरीले मंगलबार बिहान करिब ७ बजे मात्रै घटनाको जानकारी पाएको थियो।

सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय विराटनगर र सीआरभी घोघापुलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आगलागीबाट पसलमा रहेका कपडाहरू पूर्ण रूपमा जलेर नष्ट भएको प्रारम्भिक विवरणका आधारमा करिब २० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको डीएसपी मिश्रले बताए।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने विषय खुलेको छैन। घटनाको कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया