भारत, २१ असार २०८३ । भारत पञ्जाबको तरनतारणमा एक दर्दनाक घटना घटेको छ । रिसाएर माइती गएकी श्रीमतीलाई मनाएर फर्काउन ससुराल पुगेका लवप्रीत सिंहमाथि उनका सालाले पेट्रोल हालेर आगो लगाई दिएका छन् । सालोले पेट्रोल खन्याएर आयो लगाई दिएपछि उनको घटनास्थलमै मृत्यु भएको छ ।
पीडितलाई बचाउन आएकी उनकी साली पनि उक्त घटनामा गम्भीर रूपमा जलेर घाइते भएकी छिन् । पछि उपचारका क्रममा उनको पनि मृत्यु भयो । रिपोर्टअनुसार यो घटना १३ जुनमा भएको हो, तर यसको भिडियो हालै सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटनाबारे जानकारी दिँदै प्रहरीले यो घटना तरनतारण जिल्लाको संघा गाउँको भएको बताएको छ । यहाँ मृतक लवप्रीत सिंह आफ्नी श्रीमती संदीप कौरलाई मनाउन ससुराल गएका थिए । केही दिनअघि उनीहरूबीच झगडा भएपछि श्रीमती माइती गएकी थिइन् । सम्बन्ध जोगाउने उद्देश्यले लवप्रीत जब ससुराल पुगे, तब उनका सालो साजन सिंहले उनीमाथि ज्वलनशील पदार्थ हालेर आगो लगाइदिए । घटनास्थलमै उनको मृत्यु भयो । यसै विवादका बीच छुटाउन पुगेकी लवप्रीत सिंहकी साली गुरजीत पनि उनलाई बचाउन दौडिन् । तर उनी पनि आगोको चपेटामा परिन् र गम्भीर रूपमा जलेर घाइते भइन् । पछि उनलाई अस्पताल लगियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भयो ।
आरोपी पनि गम्भीर घाइते
यस घटनामा आरोपी साजन सिंह पनि आगोले जलेर घाइते भएका छन् । उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीका अनुसार सदर थाना तरनतारणमा साजन सिंहविरुद्ध मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको छ ।
भिडियोमा के छ ?
सामाजिक सञ्जालमा घटनाको भिडियो लगातार भाइरल भइरहेको छ । भिडियोमा सुरुमा स्कुटीको छेउमा उभिएको एक व्यक्ति देखिन्छ । त्यसपछि अर्को व्यक्ति फ्रेममा आउँछ र एउटा डिब्बाबाट स्कुटी नजिक उभिएको युवकमाथि ज्वलनशील पदार्थ खन्याउँछ । त्यसपछि एक महिला दौडिँदै आएर रोक्ने प्रयास गर्छिन्, तर आरोपीले लाइटर बाल्ने बित्तिकै आगो लाग्छ । युवक भागेर नालामा आगो निभाउन जान्छ तर आगो निभ्दैन । केही सेकेण्डमै ऊ ढल्छ । पछि ती महिलालाई अस्पताल लगिन्छ, तर उनको पनि मृत्यु हुन्छ ।






