काठमाडौं, २२ असार २०८३ । युरोपेली राष्ट्र पोर्चुगलमा मर्कामा परेका दुई हजारभन्दा बढी नेपालीको समस्या समाधान भएको छ । सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर प्रमाणीकरणको छाप नक्कली हुँदा मर्कामा परेका उनीहरूलाई पोर्चुगल सरकारले पुनः कागजात पेस गर्ने मौका दिएपछि समस्या समाधान भएको हो ।
“धेरै चरणको वार्ताहरूपछि पोर्चुगल सरकारले पुनः कागजात पेस गर्न अवसर दिएको छ । यो अवसर दिएसँगै समस्यामा परेका दुई हजार नेपालीमध्ये लगभग सबैले अस्थायी बसोबास कार्ड (टीआरसी) प्राप्त गरेका छन्,” पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले भने ।
पोर्चुगलका रहेका नेपालीले अस्थायी बसोबास कार्डका निम्ति आवेदन दिँदा बुझाएको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा नक्कली प्रमाणीकरणको छाप लगाइएको भेटिएको थियो । त्यसपछि पोर्चुगलले ठूलो संख्यामा नेपालीलाई आफ्नो देश छाड्न भनेको थियो ।
यो समस्याका विषयमा दुई देशबीच परराष्ट्रसचिव र परराष्ट्रमन्त्री तहमा समेत वार्ता भएको थियो । पोर्चुगलका लागि नेपाली राजदूत पौडेलले पनि समस्यमा समाधान गर्न पटक–पटक त्यहाँको विदेश मन्त्रालयमा पुगेर छलफल गरेका थिए ।
“२०२५ को डिसेम्बरबाट यस्तो समस्या देखिएको थियो । दुई देशबीच विभिन्न तहमा वार्ता भएपछि सन् २०२६ अप्रिलबाट पोर्चुगल सरकारले सक्कल कागजातमा नक्कली छापका कारण समस्यामा परेका नेपालीलाई पुनः सक्कल कागजाज बुझाउने अवसर प्रदान गर्यो । त्यसपछि अस्थायी बसोबास कार्ड जारी भए र पीडितहरूले पोर्चुगल छोड्नु परेन,” राजदूत पौडेलले भने ।
पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसेन, माइग्रेसन एन्ड असाइलम ९एआईएमए०ले अस्थायी बसोबास कार्डका निम्ति आवेदन दिएका मध्ये दुई हजार नेपालीको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा लगाइएको छाप नक्कली भएको भन्दै त्यसलाई ‘रिजेक्ट’ गरेको थियो ।
राजदूत पौडेलका अनुसार, सन् २०२४ जुलाईपछि २०२५ अप्रिलअगाडि प्रहरी रिपोर्टमा लगाइएको छाप बढी नक्कली भेटिएको थियो ।
पोर्चगलमा नेपाली दूतावास सञ्चालनमा आएको एक वर्ष भएको छ । त्यसअघि फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले पोर्चुगल पनि हेर्दै आएको थियो ।
फ्रान्समा रहेको नेपाली दूतावासले हेर्ने भए पनि नेपाल सरकारले पोर्चुगलमा अवैतनिकदूत नियुक्त गरेको थियो । ती अवैतनिकदूतले त्यहाँ रहेका नेपालीका समस्या र कामहरू हेर्ने गर्थे ।
नेपाल सरकारले दूतावास स्थापना गर्नु केही महिनाअघि पोर्चुगलमा रहेका अवैतनिकदूत हटाएको थियो । त्यसपछि पोर्चुगलमा रहेका नेपालीले आफ्ना कागजात प्रमाणीकरण गराउनुपरेमा फ्रान्सस्थित नेपाली दूतावास वा भारतको नयाँ दिल्लीस्थि पोर्चुगल दूतावासमा पठाउनुपर्थ्यो ।
त्यति बेला फ्रान्समा रहेको नेपाली दूतावासको टोली पोर्चुगल गएर वा पेरिसबाटै प्रमाणीकरण गर्दा लगाएको छापमा कुनै समस्या थिएन । तर, कुरियरमार्फत प्रमाणीकरणका निम्ति नयाँ दिल्ली पठाइएका प्रहरी रिपोर्टमा लगाइएको छापमा समस्या (नक्कली छाप) देखिएको थियो ।
पोर्चुगलमा रहेका नेपालीले अस्थायी बसोबास कार्ड (टीआरसी) लिन त्यहाँको एजेन्सी फर इन्टिग्रेसेन, माइग्रेसन एन्ड असाइलम (एआईएमए) मा आवेदन दिनुपर्छ । आवेदन दिन नभई नहुने कागजातमा पर्छ प्रहरी रिपोर्ट, त्यो नेपाल प्रहरीले जारी गर्छ ।
नेपाल प्रहरीले जारी गरेको प्रहरी रिपोर्ट सिधै बुझाउन पाइँदैन । बुझाउनुअघि प्रहरी रिपोर्ट प्रमाणीकरण गराउनुपर्छ । अहिले पोर्चुगलमै नेपाली दूतावास रहेकाले प्रमाणीकरण गर्न समस्या छैन । दूतावास नहुँदा यो काम फ्रान्सस्थित नेपाली दूतावास वा पोर्चुगलमा रहेका अवैतनिकदूतमार्फत हुन्थ्यो ।
अवैतनिकदूत नहुँदाका बेला प्रहरी रिपोर्ट प्रमाणीकरण गराउन व्यक्ति स्वयम्ले फ्रान्सस्थित नेपाली दूतावास वा नयाँ दिल्लीमा रहेको पोर्चुगलको दूतावासमा पठाउनुपर्थ्यो । नेपालमा पोर्चुगलको दूतावास नहुँदा प्रहरी रिपोर्ट प्रमाणीकरण गराउन भारत पठाउनुपर्थ्यो ।
नेपालीले एजेन्टमार्फत पठाएका प्रहरी रिपोर्ट पहिला नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रमाणीकरण गर्थ्यो । त्यसपछि नयाँ दिल्लीमा रहेको पोर्चुगलको दूतावासले प्रमाणीकरण गर्थ्यो । बीचमा प्रमाणीकरण गर्दा एक–दुईजनाको प्रहरी रिपोर्टमा लगाइएको छाप नक्कली भएको भेटिएको थियो ।
नयाँ दिल्लीस्थित नेपाली र पोर्चुगल दुवै देशको भनेर लगाइएका छाप नक्कली भएको पाइएको थियो । त्यसपछि अनुसन्धान गरिँदा ठूलो संख्यामा प्रहरी रिपोर्टमा लगाइएको छाप नक्कली रहेको पाइएको थियो ।






