Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, ५ असोज २०७८ । कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको ८ महिनामा ५५ लाख ९० हजार बढी अर्थात् नेपालको कूल जनसंख्याको १८ दशमलव ६ प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् ।

सबै नेपालीलाई खोपको दायरामा ल्याउने लक्ष्यअनुसार सरकारले खोप कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे पनि खोप प्राप्त गर्नेको संख्या सबै तिर समान नभएको सरकारी तथ्याङ्कले नै देखाउँछ । सबै भन्दा धेरै खोप बागमती प्रदेशमा लगाएका छन् भने खोप लगाउनेको संख्या कर्णाली प्रदेशमा सबै भन्दा कम रहेको छ ।

नेपालमा हालसम्म १ करोड ५७ लाख डोज कोरोना विरुद्धको खोप भित्रिएको छ । सरकारले भेरासेल खोप मात्र १ करोड डोज खोप खरिद गरेको छ भने १८ लाख अनुदानमा प्राप्त गरेको छ । खरिद, अनुदान र गाभी कार्यक्रम अन्तर्गत कोभिशिल्ड खोप २४ लाख र एस्ट्राजेनेका १९ लाख ७५ हजार प्राप्त भइसकेको छ ।

प्राप्त भएको ४४ लाख २३ हजार ८ सय ६० डोज खोपमध्ये ४० लाख ६५ हजार व्यक्तिले कोभिसिल्डको पूर्ण मात्रा खोप लगाएका छन् । १ लाख १३ हजार व्यक्ति अझै दोस्रो डोज पाउन सकेका छैनन् । प्रदेश १ मा हालसम्म ७ लाख ३२ हजार, प्रदेश २ मा ७ लाख, बागमतीमा १९ लाख ३६ हजार, गण्डकीमा ५ लाख ९८ हजार, लुम्बिनीमा ८ लाख ७५ हजार, कर्णालीमा २ लाख ३५ हजार र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८५ हजार व्यक्तिले खोप लगाएका छन् ।

नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा। लोचन कार्की संक्रमणको जोखिम कायमै रहेकाले परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्नुपर्ने बताउनुहुन्छ । ‘कोभिडका जोखिम अझै कायमै छ,’ उहाँ भन्नुहुन्छ, ‘परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्न सरकारी पक्षको ध्यान जानुपर्छ ।’

१ करोड १८ लाख डोज भेरोसेल खोपमध्ये ६३ लाख २० हजार जनाले मात्र दोस्रो डोज खोप पूरा गरेका छन् । अमेरिकाले प्रदान गरेको जोसन एण्ड जोसनको अनुदानमा दिएको १५ लाख ३४ हजार डोज खोपमध्ये १४ लाख १० हजार डोज खोप प्रयोग भएको जनाइएको छ । बाँकी १ लाख डोज बढी जोनसन खोपको म्याद गुज्रिसकेको छ ।

खोपको प्रयोग र वितरण प्रणालीमा मन्त्रालयले अनुगमन नगर्दा खोप खेर गइरहेको देखिन्छ । संक्रमितको संख्या कम भएको समयमा सरकारले जतिसक्दो छिटो धेरै व्यक्तिलाई खोपको दायरामा ल्याउन सक्ने हो भने सम्भावित तेस्रो लहरलाई रोक्न सकिन्छ ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया